लालबन्दी : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार आएको आकस्मिक बाढीले बगाएको स्कुटर सर्लाहीका महेश कुमार कार्कीको नाममा दर्ता रहेको खुलेको छ। स्कुटर फेला परेपछि गरिएको अनुसन्धानका क्रममा सवारी धनीको पहिचान खुले पनि बाढीमा बेपत्ता भएका चालकको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाढीले बगाएको बागमती प्रदेश ०२–०३२ प ८०५४ नम्बरको स्कुटर मंगलबार बिहान खोलाबाट फेला परेको थियो। त्यसपछि यातायात व्यवस्था कार्यालयको अभिलेख परीक्षण गर्दा उक्त स्कुटर सर्लाही निवासी महेश कुमार कार्कीको नाममा दर्ता रहेको पुष्टि भएको हो।
मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले स्कुटरको दर्ता विवरणबाट सवारी धनीको पहिचान खुलेको जानकारी दिँदै बेपत्ता भएका व्यक्ति स्वयं सवारी धनी हुन् वा होइनन् भन्ने विषय अझै पुष्टि हुन बाँकी रहेको बताए।
यातायात कार्यालयको अभिलेखमा सवारी धनीको नाम सर्लाहीका महेश कुमार कार्की रहेको देखिएको छ,डीएसपी काफ्लेले भने,तर बाढीमा बेपत्ता भएका चालक नै सवारी धनी हुन् भन्ने पुष्टि भएको छैन । त्यसतर्फ अनुसन्धान भइरहेको छ।
सोमबार दिउँसो कुलेखानी ड्याम नजिक रहेको सिमखोला तर्ने क्रममा आकस्मिक बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको थियो।
प्रत्यक्षदर्शीका अनुसार स्कुटरसँगै चालक पनि बाढीमा बगेका थिए। तीव्र बहावका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
मंगलबार बिहान स्कुटर फेला परेपछि चालकको खोजीलाई थप तीव्र बनाइएको छ। सुरक्षाकर्मीले खोलाको तल्लो तटीय क्षेत्र र सम्भावित स्थानहरूमा खोजी अभियान जारी राखेका छन्।
लगातारको वर्षाका कारण मकवानपुरका अधिकांश खोलानालामा पानीको बहाव बढेकाले प्रशासनले नदी तथा खोला तर्न नजान, अनावश्यक यात्रा नगर्न र बाढी–पहिरोको जोखिम भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणसँग आग्रह गरेको छ।