सर्लाहीमा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु

बलरा । सर्लाहीको बलरा नगरपालिकामा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

बलरा नगरपालिका–१ हथियौलमा मंगलबार राति खेतमा पानी पटाउने (सिँचाइ गर्ने) क्रममा विद्युतीय करेन्ट लाग्दा भारतको बिहार राज्य, सितामढी जिल्ला, श्रीनगर घर भएका करिब ५० वर्षीय अरबिन्द कुमार सिंहको घटनास्थलमै मृत्यु भएको हो।

मृतक सिंह स्थानीय सुरेन्द्र प्रसाद सिंहको खेत बटैया (उब्जनी बाँड्ने गरी) मा लिएर खेती गर्दै आएका थिए।

प्रहरीका अनुसार घटना मंगलबार रातिको भए पनि मृतकका आफन्तले शव घरतर्फ लैजान लागेको अवस्थामा बुधबार बिहान करिब १० बजे मात्र प्रहरीलाई जानकारी प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी छन्कीटोला र इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलको प्रारम्भिक मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए।

सम्बन्धित समाचार

सबै