मलंगवा । सर्लाहीको गोडैता नगरपालिका–११, सिसौटियामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय सञ्जयकुमार यादव रहेका छन्।
प्रहरीका अनुसार आइतबार राति करिब १०ः४५ बजेको समयमा स्थानीय ठगा रायको खेतमा मोटरबाट पानी पटाउने क्रममा विद्युतको तार मिलाउन खोज्दा सञ्जयकुमार यादवलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएकोमा राति ११स्२६ बजे चिकित्सकले परीक्षण गरी मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी गोडैताबाट प्रहरी सहायक निरीक्षक सञ्जीव शाहको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
त्यसैगरी, सोमबार बिहान ९ बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक गणेश पाण्डेको कमाण्डमा प्राविधिक सहितको टोली घटनास्थल पुगी मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको छ।
प्रादेशिक अस्पताल मलङ्गवाको शवगृहमा राखिएको मृतकको शव सोमबार दिउँसो १२ः३० बजे पोष्टमार्टमपश्चात उनका भाइ अजयकुमार राय यादवले बुझेर लगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।