धनकौल । उखु किसानको भुक्तानी नदिएपछि पक्राउ गरिएका सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्तालाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।
किसानको उजुरीको आधारमा काठमाडौँबाट पक्राउ गरेर सर्लाही ल्याइएका गुप्तालाई करिव तीन साता मलंगवास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखियो । गुप्तालाई बोलाएको बखत उपस्थित हुने गरी हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले बताएका छन् ।
गत माघरफागुनमा बिक्री गरेको उखुको भुक्तानी नपाएको भन्दै ५० जना भन्दा बढी किसानले गुप्ताविरुद्ध उजुरी दिएका छन् । अन्नपूर्ण चिनी मिलले उखु क्रसिङ सिजन २०८२र८३ मा तीन हजार १८६ जना किसानबाट खरिद गरिएको नौ लाख ९३ हजार ७५२।६७ क्विन्टल उखु क्रसिङ गरेको थियो ।
६१ करोड ६१ लाख २७ हजार ६५५ रुपियाँ चार पैसा बराबरको उखु खरिद गरेको उद्योगले किसानलाई अझै २२ करोड रुपियाँको हाराहारीमा भुक्तानी दिन बाँकी रहेको छ । केही साताअघि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षतामा गठन गरिएको छानविन समितिले समेत अन्नपूर्ण चिनी उद्योग धनकौलबाट किसानले २२ करोडको हाराहारीमा भुक्तानी पाउन बाँकी रहेको प्रतिवेदन दिएको थियो ।
उद्योग प्रशासनले भने अहिले पनि दिनहुँ किसानको भुक्तानी भइरहेको दावी गरेको छ ।
नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष श्यामबाबु रायले दशैँअघि किसानको भुक्तानी गरिसक्ने सर्तमा आफूहरु समेतको सहमतिमा उद्योगी गुप्ता छुटेका जानकारी दिए ।