हरिवन । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–४, गणेश चोकमा आज बिहान ट्रकको ठक्करबाट एक जना साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा हरिपुर नगरपालिका–५, लक्ष्मीपुर निवासी ५० वर्षीय पंचलाल चौधरी रहेका छन् ।
प्रहरीका अनुसार सासापुरको गेला गाउँमा मजदुरी काम गर्ने चौधरी आज बिहान करिब ७ बजेको समयमा झरी परिरहेका बेला साइकल चढेर जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।
सडक छेउमा रोकिराखेको बसको अगाडिबाट बाटो काट्ने क्रममा उनलाई पछाडिबाट आउँदै गरेको मधेश प्रदेश–०३–००२ ख ११९४ नम्बरको ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।
दुर्घटना लगत्तै मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटना गराएर फरार भएको ट्रक र चालकलाई बागमतीबाट इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका चालक र ट्रकलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिवन पठाइएको प्रहरीले जनाएको छ ।