सर्लाही । सर्लाहीको मलङ्गवाबाट अनुदानको रासायनिक मल कालाबजारी गरी बढी मूल्यमा बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कृषकहरूको गुनासो र विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले उनीहरूलाई मलसहित नियन्त्रणमा लिएको हो ।
साउन १९ गते मलङ्गवा नगरपालिका वडा नं १० स्थित कृष्ण जनरल स्टोर किराना पसलमा खानतलासी गर्दा अनुमतिविना डीएपी मल प्रतिबोरा ३ हजार ५ सय रुपैयाँमा बिक्री गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका थिए।
पक्राउ पर्नेहरूमा मलङ्गवा वडा नं ७ बस्ने २३ वर्षीय अभिनय राय र २० वर्षीय अभिनन्दन राय रहेका छन्। उनीहरूको पसलबाट ५० किलो तौल भएका ४ बोरा डीएपी र १ बोरा युरिया मल बरामद गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उनीहरूले उक्त मल मलङ्गवा वडा नं ४ शिवसागर चोकस्थित राहुल गुप्ताको पसलबाट प्रतिबोरा ३ हजार २ सय रुपैयाँमा खरिद गरी ल्याएर ३ हजार ५ सय रुपैयाँमा बेच्ने गरेको खुलाएका थिए।
सोही बयानका आधारमा प्रहरीले मलङ्गवा वडा नं ३ बस्ने २८ वर्षीय राहुल गुप्ताको पसलमा खानतलासी गर्दा थप ७ बोरा युरिया मल बरामद गरी गुप्तालाई समेत पक्राउ गरेको छ।
पक्राउ परेका तीनै जनामाथि कालो बजारी सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।