भारतमा धान रोपेर घर फर्किंदै गरेका सर्लाहीका अजयको दुर्घटनामा मृत्यु, ६ जना घाइते

मलङ्गवा । भारतको पञ्जाबमा धान रोपेर घर फर्किने क्रममा अटो दुर्घटना हुँदा सर्लाहीका एक युवकको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सर्लाहीको धनकौल गाउँपालिका–४, महिनाथपुरका ३२ वर्षीय अजय राम रहेका छन्। भारतको बिहार राज्यस्थित ढाका क्षेत्रमा आज बिहान करिब ५ बजे मजदुरहरू चढेको अटो दुर्घटनामा परेको हो।

दुर्घटनामा परी धनकौलकै उमेश राम, नरसिंह राम, प्रमोद राम, चुनचुन राम, दिलीप राम र गोडैता नगरपालिका ९रामवन० का नवीन माझी घाइते भएका छन्। घाइतेहरूको भारतकै सरकारी अस्पतालमा उपचार भइरहेको नेपाली कांग्रेसका स्थानीय नेता दीपेश राय यादवले जानकारी दिए ।

पञ्जाबमा धान रोपाइँको काम सकेर घर फर्किंदै गर्दा दुर्घटना भएपछि घाइतेहरूले नै फोन गरेर घरमा घटनाबारे जानकारी गराएका थिए। अजयको मृत्यु भएको खबर पाएलगत्तै उहाँका काका, दाजुभाइलगायत नातेदार बिहानै भारततर्फ गएको धनकौल गाउँपालिका–४ का वडाध्यक्ष नरेन्द्र राय यादवले बताए ।

सर्लाहीका सीमावर्ती क्षेत्रबाट चमार, मुसहरलगायत दलित तथा विपन्न वर्गका नागरिक ठूलो सङ्ख्यामा मौसमी खेतीपातीका कामका लागि भारतको पञ्जाबलगायतका स्थानमा जाने गर्दछन्।

सम्बन्धित समाचार

सबै