ईश्वरपुर । लागुऔषध नियन्त्रण ब्यूरोको बर्दिबास महोत्तरी शाखाबाट खटिएको प्रहरी टोलीले खैरो हेरोइन मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई सर्लाहीको ईश्वरपुर नगरपालिका–५ बाट पक्राउ गरेको छ।
ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेहरूमा सर्लाही ईश्वरपुर नगरपालिका–५ का ४५ वर्षीय मित्र कुमार गौतम र ४० वर्षीय राम उदगार महतो रहेका छन्।
उनीहरू महमद गफार अन्सारीसमेत संलग्न रहेको ५१.९२० ग्राम खैरो हेरोइन सम्बन्धी मुद्दाका फरार प्रतिवादी हुन्।
प्रहरीले उनीहरूलाई पक्राउ गरी सम्मानित महोत्तरी जिल्ला अदालतमा बुझाउने प्रयोजनका लागि इलाका प्रहरी कार्यालय केशरगञ्जमा बुझाएको जनाएको छ।
दुवै प्रतिवादीविरुद्ध गत फागुन ४ र २९ गते महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी दुर्गा राज रेग्मीले जानकारी दिएका हुन्।