देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
सर्लाही, काभ्रे र काठमाडौंमा बिहीबार भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
सर्लाहीको कविलासी नगरपालिका-१० सलेम्पुरस्थित सडकमा बिहीबार बेलुकी बीआर ०१ जेए २७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ पिपरिया बस्ने २५ वर्षीय रामशंकर माझीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका माझीको नेशनल मेडिकल कलेज वीरगन्जमा थप उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-४ डाँछीस्थित सडकमा बा.प्र.०१-००२ ज ९५८८ नम्बरको माइक्रोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय शंकरप्रसाद कुइँकेलको बिहीबार दिउँसो मृत्यु भएको छ। माइक्रोको ठक्करबाट गम्भीर घाइते भएका उनको शङ्खरापुर अस्पताल नारायणटारमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले माइक्रो चालकलाई नियन्त्रणमा लिएको छ।
यसैगरी काभ्रेको पाँचखाल नगरपालिका-४ तामाघाट बजारस्थित सडकमा बा.प्र.०१-०१६ प ७३१८ नम्बरको स्कुटर बिहीबार बेलुकी दुर्घटना हुँदा चालक काठमाडौँ थली बस्ने ४० वर्षीय रबी सिमखडाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।