मलंगवा । सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाका विभिन्न स्थानबाट अवैध रूपमा बालुवा र गिट्टी उत्खनन गरिरहेको अवस्थामा ६ वटा ट्याक्टर र तीन जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साउन ३० र ३१ गते लालबन्दी नगरपालिका–२ स्थित नवलपुर रेलवे ट्रयाक मुनि, झुलुङ्गे पुल नजिकैको लखनदेही खोला र वडा नं। ५ स्थित कालिन्जोर खोलाबाट उनीहरूलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय लालबन्दी र इप्रका नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले अवैध उत्खनन भइरहेको सूचनाका आधारमा उक्त कारबाही गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका–६, घुर्कौली टोल बस्ने ३७ वर्षीय जयफल मोक्तान ना ७ त १५२० नं। को ट्याक्टरसहित, सोही ठाउँका २७ वर्षीय श्याम लाल मोक्तान प्रदेश ०२ ०३ ००१ त २४९० नं को ट्याक्टरसहित र लालबन्दी नगरपालिका–५ बस्ने २५ वर्षीय राम केवल महतो प्र ००२ ०२ ००१ त १८०६ नं को ट्याक्टरसहित रहेका छन् ।
यस्तै, प्रहरीलाई देखेपछि चालक फरार भएका अन्य तीनवटा ट्याक्टरहरू ना ७ त ४२६९, प्रदेश ०२ ००१ त २०३८ र २ त ४७२२ लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका सबै ट्याक्टर र चालकहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।