सर्लाही । महेन्द्र राजमार्ग विस्तारपछि लालबन्दीस्थित थोक तरकारी बजार थप साँघुरिँदा किसान र व्यापारी प्रभावित भएका छन्। राजमार्गमै तरकारीको किनबेच हुँदा दुर्घटनाको जोखिम बढेको छ भने सवारी आवागमनसमेत प्रभावित भइरहेको छ। मधेश प्रदेशमा सबैभन्दा बढी तरकारीको किनबेच हुने लालबन्दी थोक तरकारी बजारमा सर्लाही र महोत्तरीका किसानले तरकारी बिक्रीका लागि ल्याउने गरेका छन्।
हरेक दिन बिहान दुई–तीन घण्टासम्म राजमार्गसम्मै भिडभाड हुने गरी तरकारीको किनबेच हुने गरेको छ। अहिले तरकारी बजारको गेटसम्मै राजमार्गको पुल निर्माण भएर सवारी गुड्न थालेकाले बिहानीपख बजार क्षेत्रमा सवारी आवागमन अस्तव्यस्त बन्न थालेको हो।
तरकारी बजारका सुरक्षा गार्ड, नगर प्रहरी र नेपाल प्रहरीलाई राजमार्ग खाली गराउन हम्मेहम्मे पर्ने गरेको छ। लालबन्दी नगरपालिका–५ का स्थानीय हरिप्रसाद धमलाले हरेक दिन बिहान तरकारी बजार र राजमार्ग आसपासको अवस्था भद्रगोल हुने गरेको बताउनुभयो।
बिहानीपख किसानले एकैपटक ठुलो सङ्ख्यामा साइकल, मोटरसाइकल, टेम्पो, म्याजिकलगायतका सवारीसाधनमा तरकारी लिएर आउँदा राजमार्गसम्मै ढाकिने गरेको उहाँले बताउनुभयो। तरकारी बजारलाई व्यवस्थित नगरे जुनसुकै बेला गम्भीर प्रकृतिको सवारी दुर्घटना हुन सक्ने जोखिम रहेको उहाँले बताउनुभयो।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक श्याम थापा मगरले तरकारी बजारमा अत्यधिक चाप बढेका बेला प्रहरी पुगेर सहजीकरण गर्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “हाइवेमा समेत चाप भएका बेला हामी र ट्राफिक प्रहरी पुगेर सहयोग गर्ने गरेका छौँ।”
कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमोद थपलियाले तरकारी बजारका लागि ठाउँ साँघुरो भएकाले बिहान ६ बजेदेखि ९ बजेसम्म भीड नियन्त्रण गर्न मुस्किल परिरहेको बताउनुभयो।
“दुई जना गार्डले मात्र नसकेपछि थप दुई जना गार्ड राख्दा पनि नियन्त्रण गर्न गाह्रो भइरहेको छ,” बजार समितिका अध्यक्ष थपलियाले भन्नुभयो, “सडकबाट भीड हटाउन हाम्रा गार्ड र नगर प्रहरीले मात्र नभ्याएपछि ट्राफिक प्रहरी र नेपाल प्रहरीसँग सहयोग मागिरहेका छौँ।”
लालबन्दी नगरपालिका–७ स्थित डुमडुमे मन्दिर अगाडिको थोक तरकारी बजारमा चार कठ्ठा नम्बरी र बाँकी १४ कठ्ठा ऐलानी जग्गा रहेको छ। राजमार्गसम्म व्यापार हुन नदिन पछाडिपट्टि थप जग्गा खरिदका लागि नगरपालिकासँग पहल गरे पनि सुनुवाइ नभएको बजार समितिका अध्यक्ष थपलियाले बताउनुभयो।
लालबन्दी नगरपालिका–१७ रानीगन्जमा करोडौँ रुपियाँ खर्चिएर निर्माण गरिएको तरकारी बजार सञ्चालनमा आउन सकेको छैन। यता, लालबन्दी–७ स्थित तरकारी बजारमा ठाउँ अभाव हुँदा समस्या बढ्दै गएको छ। लालबन्दी बजारदेखि करिब चार किलोमिटर दूरीमा रहेको रानीगन्जमा सवा करोड रुपियाँ खर्चिएर चार बिघा जग्गामा निर्माण गरिएको तरकारी बजार तथा त्यसका संरचना प्रयोगमा आउन सकेका छैनन्।
लालबन्दीका नगरप्रमुख वासुदेव अधिकारीले लालबन्दी तरकारी बजारको अस्तव्यस्तता कम गर्न रानीगन्ज र नवलपुरको तरकारी बजारलाई उप–सङ्कलन केन्द्रका रूपमा विकास गर्ने तयारी भइरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “हाइवे विस्तार भएपछि धेरै कुरा व्यवस्थापन गर्नुपर्ने अवस्था छ। त्यसमध्ये लालबन्दीको तरकारी बजारलाई मुख्य सङ्कलन केन्द्र तथा रानीगन्ज र नवलपुरलाई उपकेन्द्र बनाएर भीड कम गर्ने विषयमा छलफल गरिरहेका छौँ।”
लालबन्दीको साटो नवलपुर वा रानीगन्ज गएर तरकारी किनबेच गर्न आग्रह गर्दा कोही पनि तयार नहुने अवस्था रहेकाले पूर्वतर्फबाट आउने तरकारी रानीगन्जमै तथा पश्चिमतर्फबाट आउने तरकारी नवलपुर बजारमै बिक्री गर्ने व्यवस्था मिलाउन सके लालबन्दी तरकारी बजारमा ठाउँ अभावको समस्या कम हुने नगरप्रमुख अधिकारीको भनाइ छ। -गोरखापत्रबाट