गोसाइँकुण्ड हिँडेका लालबन्दीका पाँच जना सम्पर्कविहीन

लालबन्दी । लालबन्दी नगरपालिका–५ का चार जना स्थानीयसहित पाँच जना गोसाइँकुण्ड जाने क्रममा सम्पर्कविहीन भएका छन् । बुधबार बिहान आफ्नै गाडीमा गोसाइँकुण्डतर्फ हिँडेका उनीहरू बिहान साढे ९ बजेसम्म आफन्तको सम्पर्कमा थिए ।

नुवाकोटको बट्टारमा उनीहरू पछिल्लो पटक सम्पर्कमा रहेको आफन्त सफलता खरेलले जानकारी दिइन् । खरेलका अनुसार त्यसपछि फोन गर्दा सुरुमा सम्पर्क हुन नसकेको र पछि मोबाइल फोनसमेत स्विच अफ भएको थियो ।

बेपत्ता हुनेमा लालबन्दी नगरपालिका–५ का कृष्णप्रसाद धमला, द्वारिका डंगोल र चिरञ्जीवी खतिवडासहित काठमाडौंका माधव काफ्ले छन् । उनीहरूसँगै एक जना बालक पनि रहेको र उनको नाम खुलेको छैन ।

आज बिहान तिब्बततर्फबाट त्रिशूली नदीमा आएको भीषण बाढीका कारण उनीहरू प्रभावित भएको हुन सक्ने आशंका गरिएको छ । उनीहरूको अवस्था यकिन हुन सकेको छैन ।

उनीहरूको खोजी तथा अवस्थाबारे थप जानकारीका लागि आफन्त र सम्बन्धित निकायले पहल गरिरहेका छन् ।

सम्बन्धित समाचार

सबै