हरिपुर । भोटेकोशी नदीमा आएको बाढीमा परेर सर्लाहीका एक नेपाली सेनाका जवान सम्पर्कविहीन भएका छन्।
हरिपुर नगरपालिका वडा नम्बर २ घर भएका सेनाका जवान अभिनाश चौधरी बाढी आएको दिनदेखि बेपत्ता भएका हुन्।
नेपाली सेनाको श्रीनाथ गण रसुवामा कार्यरत जवान चौधरी बाढीको चपेटामा परेको र त्यसयता उनको अवस्था अज्ञात रहेको छ। उनको खोजी कार्य भइरहेको भए पनि हालसम्म कुनै पत्तो लाग्न सकेको छैन।
लामो समयसम्म पनि चौधरीको अवस्था थाहा हुन नसक्दा उनको घरपरिवार र आफन्तजनमा चिन्ता बढेको छ। हरिपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष निलबिक्रम थापाका अनुसार छोरा बेपत्ता भएको खबरले परिवारजनमा रुवाबासी चलेको छ।
स्थानीयवासी र परिवारजनले उनको खोजी कार्यलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायसँग आग्रह गरेका छन्।