वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट एक दिने नवजात शिशु (बालक) चोरी भएको छ।
आइतबार राति पहिचान खुल्न नसकेकी एक अपरिचित महिलाले खेलाउने बहानामा अस्पतालबाटै शिशु लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लका अनुसार अन्दाजी ३५ वर्षीया महिलाले बालककी हजुरआमासँग ‘बच्चा खेलाउँछु’ भन्दै मागेकी थिइन्। ती महिलाले हजुरआमालाई झुक्क्याएर शिशु लिएर बेपत्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वा निवासी रिन्कु देवीको शल्यक्रिया मार्फत शनिबार राति ११ बजे सो बालकको जन्म भएको थियो। शिशु जन्मिएको २४ घण्टा नबित्दै अस्पतालको प्रसूति वार्डबाटै चोरी भएको हो।
नवजात बालक अस्पतालबाट चोरी भएको सूचना प्राप्त हुनासाथ प्रहरीले खोजी कार्यलाई तीव्र पारेको छ। डिएसपी मल्लका अनुसार अस्पताल परिसर तथा आसपासका क्षेत्रमा प्रहरी टोली परिचालन गरी शङ्कास्पद व्यक्तिहरूको निगरानी र खोजी भइरहेको छ।