बरहथवा । सर्लाहीको बरहथवा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूले बाढीपीडितको राहत तथा उद्धारका लागि आफ्नो १५ दिनको सेवा सुविधाबापतको रकम सहयोग स्वरूप उपलब्ध गराउने घोषणा गरेका छन्।
नगरपालिकाको शुक्रबार (भदौ १६ गते) बसेको कार्यपालिका बैठकले मुलुकमा आइलागेको प्राकृतिक विपत्तिको समयमा मानवीय सहयोग गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो।
गत भदौ १० गते रसुवा जिल्लाबाट सुरु भएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा ठूलो जनधनको क्षति पुर्याएपछि नगरपालिकाले यो कदम चालेको हो।
नगर प्रमुख कल्पना कुमारी कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देश अहिले विपद्को सामना गरिरहेको र विभिन्न निकायबाट राहत तथा उद्धार कार्य भइरहेको अवस्थामा बरहथवा नगरपालिकाको तर्फबाट पनि राहत र उद्धारका लागि नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूको १५ दिनको सेवा सुविधाबापतको रकम आर्थिक सहयोग स्वरूप प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।’
विपद्को यो कठिन घडीमा पीडितहरूलाई थोरै भए पनि राहत पुगोस् भन्ने हेतुले नगर कार्यपालिकाले स्वेच्छिक रूपमा यो निर्णय गरेको नगरपालिकाले जनाएको छ।
