सर्लाहीमा प्रधानाध्यापकलाई कुटेको आरोपमा २० वर्षीय युवक पक्राउ

बलरा । सर्लाहीको बलरा नगरपालिका – ४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक कुटपिटमा परेको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार सोमबार दिउँसो विद्यालयभित्र सरसफाइ गराउने विषयमा विद्यार्थीलाई गालीगलौज तथा दुर्व्यवहार गरेको भनिएको विषयलाई लिएर विद्यार्थी र शिक्षकबीच छलफल भइरहेको अवस्थामा प्रधानाध्यापक बलरा नगरपालिका – ४ निवासी करिब ५५ वर्षीय वीरेन्द्र झामाथि कुटपिट भएको हो।

कुटपिटबाट प्रधानाध्यापक झा सामान्य घाइते भएको तथा उनको सवारी साधनसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी भिडियो तथा सामग्री सामाजिक सञ्जालमा प्रसारित भएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाएको हो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बलरा नगरपालिका – २ निवासी २० वर्षीय अभिषेक कापडलाई तत्काल नियन्त्रणमा लिएको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूबारे समेत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिए।

गत शुक्रबार विद्यालयमा भएको सरसफाइ कार्यक्रममा प्रधानाध्यापक झाले छात्राहरूप्रति असभ्य शब्द प्रयोग गर्दै गालीगलौज गरेको आरोप विद्यार्थीहरूले लगाएका छन्।

सोही विषयलाई लिएर सोमबार दिउँसो विद्यार्थीहरूले विद्यालय परिसरमै प्रधानाध्यापक झालाई कुटपिट गरेका हुन्। घटनाका क्रममा प्रधानाध्यापकको सवारीसाधनसमेत तोडफोड गरिएको छ।

बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहाले प्रधानाध्यापक कुटपिट घटनाबारे छानबिन गर्न समिति गठन गरिने सोमबार साँझ नै सामाजिक संजालबाट जानकारी दिएका छन्।

उनका अनुसार समितिले घटनाको विस्तृत अध्ययन गरी बुझाएको प्रतिवेदनका आधारमा दोषी देखिएकामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।

सम्बन्धित समाचार

सबै