सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठवाबाट चार दिनदेखि बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् । स्थानीय रामबिनय यादवकी १० वर्षीया छोरी चाँदकुमारी यादव बुधबार साँझ मृत फेला परेकी हुन् ।
गत आइतबारदेखि सम्पर्कविहीन भएकी बालिकाको खोजीका लागि इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोपिकृष्ण सुवेदीको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो । खोजी कार्यमा प्रहरी टोलीसँगै बालिकाका आफन्त र स्थानीय बासिन्दा समेत संलग्न थिए ।
प्रहरीका अनुसार व्यापक खोजी गर्ने क्रममा बुधबार साँझ करिब साढे ४ बजे धनकौल गाउँपालिका–४ स्थित मनुष्मारा खोलामा बालिकाको शव फेला परेको हो ।
मृतक बालिकाको शवलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको परिवारले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।