मलंगवा : सर्लाहीमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको विष्णु गाउँपालिका–२ पकडीटोल निवासी ६० वर्षीया कृष्णामती देवी रहेकी छन्। उनी स्थानीय रामचन्द्र ठाकुरकी श्रीमती हुन्।
प्रहरीका अनुसार आइतबार बिहान करिब ११:४० बजे आफ्नै धान खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा मोटरको नाङ्गो तारमा अचानक उनको पैताला पर्न गएको थियो। नाङ्गो तारमा खुट्टा परेपछि करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन्।
घाइते कृष्णामतीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। अस्पताल पुर्याएर दिउँसो १२:३३ बजे ईसीजी परीक्षण गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान तथा आवश्यक सोधपुछ गरिरहेको जनाएको छ।