चोरीको गरगहना खरिद गरेको आरोपमा सर्लाहीबाट ज्वेलर्स सञ्चालक पक्राउ

पर्सा गाउँपालिका । सर्लाहीमा चोरीको गरगहना खरिद गरेको आरोपमा एक ज्वेलर्स सञ्चालक पक्राउ परेका छन्।

जिल्लाको पर्सा गाउँपालिका–२, संग्रामपुरस्थित ‘मौजे ज्वेलर्स’का सञ्चालक विश्वनाथ साह सोनारलाई प्रहरीले शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।

यसअघि चोरीको घटनामा पक्राउ परेका एक अभियुक्तले दिएको बयानका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँदै साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार चोरी गरी ल्याइएका गरगहना खरिद गरेको आशंकामा साहमाथि विस्तृत अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा प्रहरीले साहको साथबाट चोरी भएका भनिएका केही गरगहनासमेत बरामद गरेको जनाएको छ।

स्थानीय बासिन्दाका अनुसार साहले विगत करिब १० वर्षदेखि स्थानीय तथा भारतीय सीमावर्ती क्षेत्रबाट चोरी गरी ल्याइएका गरगहना न्यून मूल्यमा खरिद गर्ने गरेका थिए। यस्तो कारोबारबाट उनले ठूलो परिमाणमा सम्पत्ति आर्जन गरेको स्थानीयको दाबी छ।

यद्यपि, यी आरोपहरू पुष्टि हुन बाँकी रहेकाले प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रहरीले बरामद गरिएका गरगहनाहरूको पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ। चोरी भएका गरगहना आफ्नो भएको दाबी गर्ने सम्बन्धित पीडितहरूलाई आवश्यक प्रमाणसहित प्रहरीसमक्ष जाहेरी दिन आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश गौतमका अनुसार बरामद गरगहना आफ्नो भएको दाबी गर्दै सम्बन्धित पीडितले जाहेरी दिएपछि सोही जाहेरीका आधारमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइनेछ।

सम्बन्धित समाचार

सबै