सर्लाहीमा वैदेशिक रोजगार ठगीको १२ लाख रुपैयाँ पीडितलाई फिर्ता

मलंगवा । वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने प्रलोभन देखाई ठगी गरिएको १२ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा पीडितहरूले फिर्ता पाएका छन् ।

ईश्वरपुर नगरपालिका वडा नं १, भक्तिपुर बस्ने राजेन्द्र महतोका छोरा राकेश महतो (नथुनी महतो) ले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको प्रलोभन देखाई सो रकम ठगी गरेका थिए ।

महतोले मलंगवा नगरपालिका वडा नं १० का राज कुमार रौनियार र अजय ठाकुर, ईश्वरपुर नगरपालिका वडा नं ६ का पहलाद सहनी तथा ब्रह्मपुरी गाउँपालिका वडा नं ६ का सन्दीप यादवबाट मौरिसस पठाउने बहानामा १२ लाख रुपैयाँ असुल गरेका थिए ।

रकम बुझाएको लामो समय बितिसक्दा पनि आरोपी महतोले नत विदेश पठाए, नत रकम नै फिर्ता गरे । आफूहरू ठगिएको महसुस गरेपछि पीडितहरूले न्यायका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी दिएका थिए ।

प्रशासनले पीडितहरूको निवेदनका आधारमा दुवै पक्षलाई झिकाई आवश्यक समन्वय र पहल गरेको थियो । प्रशासनको रोहवरमा भएको छलफलपछि आरोपी राकेश महतोका बुबा राजेन्द्र महतोले पीडितहरूलाई ठगिएको पुरै १२ लाख रुपैयाँ फिर्ता गरेका हुन् ।

पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगी हुने क्रम बढ्दै गएको बेला जिल्ला प्रशासन कार्यालयको यस कदमले पीडितहरूलाई राहत मिलेको छ ।

प्रशासनले वैदेशिक रोजगारीमा जाँदा आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अगाडि बढाउन र लेनदेन गर्दा सचेत रहन समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार

सबै