काठमाडौं : सर्लाहीबाट निर्वाचित स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले शहरी विकास मन्त्रालयको नाम फेरेर मन्त्री विकास मन्त्रालय राख्नपर्ने व्यंग्यात्मक सुझाव दिएका छन्।
बधबार प्रतिनिधिसभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्।
‘मन्त्रीको चाकरीको आधारमा बजेट विनियोजन गर्ने उहाँहरूको निजी सम्पत्ति होइन। जनताले तिरेको करबाट बनेको बजेट हो,’ उनले भने ।
सांसद सिंहले १० हजार जनसंख्या भएको डोल्पामा तीन पानाको योजना लगिएको आफ्नो क्षेत्रमा एउटा पनि योजना नदिएको भन्दै असन्तुष्टि जनाए। उनले १ लाखमा स्मार्ट सिटी बनाउने मन्त्री आफूले दुनियाँमा नदेखेको बताए। उनले रातभरि गुगलमा खोज्दासमेत नभेटाएको बताए।
उनले भने, ‘ १ लाख रुपैयाँमा कस्तो स्मार्टसिटी बन्छ। कुनै एउटा भू–भागलाई बजेट दिँदै नदिने ? मधेसमा कति बजेट दिनुभएको छ। मेरो क्षेत्रमा एउटा पनि योजना परेन।’
उनले सहरी विकास मन्त्रीले अमेरिका जापानले समेत नसकेको काम १ लाखमा स्मार्ट सिटी बनाउने योजना ल्याएको बताए। उनले १ लाख रुपैयाँमा कस्तो स्मार्टसिटी बन्छ संसदीय टोली बनाएर मन्त्रीले डोल्पामा बनाएको स्मार्ट सिटी अवलोकन गर्न जान आवश्यक रहेको बताए।
उनले यसरी बजेट विनियोजन गर्नु बजेटको बरबादी भएको भन्दै आफ्नो हातमा भयो भन्दैमा मन्त्रीले जे पनि गर्न नमिल्ने बताए। उनले बजेट र विकास मन्त्री वा सांसदको लागि मात्रै नभएर देश जनताको लागि भएको बताए। उनले मधेसलाई बजेट विनियोजन अहिले पनि मन्त्रालयगत रुपमा नपरेको बताए ।
उनले भने, ‘कुनै एउटा भू–भागलाई बजेट दिँदै नदिने ? मधेसमा कति बजेट दिनुभएको छ। मेरो क्षेत्रमा एउटा पनि योजना परेन। मेरो साथी रक्षा मन्त्री हुनुहुन्छ उहाँको क्षेत्रमा पर्यो। उहाँले फेसबुकमा हालिदिनुभएछ मेरो क्षेत्रमा यो योजना छ। मेरो जनताले दबाब दिइरहेका छन्। तपाईंको क्षेत्रमा केके छ।’