सर्लाही । रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेर बेपत्ता भएका सर्लाहीको लालबन्दी नगरपालिका–५ का तीन जना र काठमाडौंका दुई जनाको हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
गत साउन १० गते गोसाईंकुण्ड तीर्थयात्रामा जाने क्रममा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीमा परी लालबन्दी–५ निवासी द्वारिका प्रसाद दंगाल, कृष्ण प्रसाद धमला र चिरञ्जीवी खतिवडा तथा काठमाडौं निवासी माधव काफ्ले उनका छोरासहित बेपत्ता भएका थिए।
बाढीपछि विभिन्न माध्यमबाट खोजी तथा खोजतलास गरिए पनि उनीहरू फेला पर्न नसकेपछि परिवारले हिन्दू धर्म परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गर्ने निर्णयमा पुगेका थिए ।
बेपत्ता भएको लामो समयसम्म खोजी गर्दा समेत कुनै पत्तो नलागेपछि आज भदौ २६ गते बागमती नदीमा उनीहरूको कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो।
अन्त्येष्टिमा परिवारजन, आफन्त, शुभचिन्तक तथा स्थानीयवासी सहभागी भएका थिए। धार्मिक परम्पराअनुसार गरिएको अन्त्येष्टिसँगै परिवारले बेपत्ता आफन्तप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।