सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–३, सानो खुरखोटीमा भर्याङबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीया सुनिता माझी रहेकी छिन्।
प्रहरीका अनुसार मंगलबार बिहान करिब २ः३० बजेको समयमा सुनिता आफ्नै एकतले कच्ची घरको भर्याङ चढ्ने क्रममा अचानक लड्न पुगेकी थिइन्। भर्याङबाट खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
घटनालगत्तै घाइते माझीलाई उपचारका लागि बरहथवास्थित नगर अस्पताल पुर्याइएको थियो। त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारका लागि बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा चिकित्सकले ईसीजी परीक्षण गरी उनलाई मृत घोषणा गरेका थिए।
यद्यपि, मृतकका आफन्तले पुनः स्वास्थ्य परीक्षण गराउने उद्देश्यले बुधबार बिहान ७ः४५ बजे उनलाई वीरगन्जस्थित नारायणी अस्पताल लगेका थिए। नारायणी अस्पतालमा बिहान ८ः०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।