सर्लाहीमा चट्याङ लागेर एक बालिकाको मृत्यु, दुई घाइते

बागमती । सर्लाहीको बागमती नगरपालिका–४, गोले टोलस्थित च्याउ कारखाना क्षेत्रमा चट्याङ पर्दा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलबार साँझ करिब ५:३० बजे चट्याङ लागेर गम्भीर घाइते भएकी १२ वर्षीया दिना मोक्तानको उपचारका क्रममा मृत्यु भएको छ। ठाकुरसिंह मोक्तानकी छोरी दिनालाई उपचारका लागि बागमती मोडल अस्पताल लगिएकोमा साँझ ६ः३० बजे चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

घटनामा परी अन्य दुई जना घाइते भएका छन्। सोही स्थानकी ११ वर्षीया प्रितिमा बोम्जनको शरीरको भित्री भागमा चोट लाग्नुका साथै शरीरमा कालो दाग देखिएको प्रहरीले जनाएको छ। बागमती मोडल अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि साँझ ६ः४३ बजे वीरगन्जस्थित स्पर्स अस्पताल रिफर गरिएको छ।

त्यस्तै, सोही नगरपालिका–४ का ४२ वर्षीय पोशाकबहादुर वाइबा पनि चट्याङबाट घाइते भएका छन्। चट्याङको असरका कारण दुवै कान सुन्न नसक्ने भएका वाइबाको कर्मैयास्थित सभ्यता हेल्थ केयरमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान तथा विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै