सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

लालबन्दी । सर्लाहीको कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलंगवा–नवलपुर सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मंगलबार साँझ करिब ५ बजेर ५० मिनेटमा कबिलासीबाट गैरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा बीआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल चालक कबिलासी नगरपालिका–८ बस्ने रामबाबु पासवानका २६ वर्षीय छोरा पप्पु पासवान गम्भीर घाइते भएका थिए । उनको टाउको र छातीमा चोट लागेको थियो । उपचारका क्रममा साँझ ७ बजेर ४९ मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलको बीचमा सवार कबिलासी नगरपालिका–८ का भाग्यनारायण पासवानका ३३ वर्षीय छोरा सुरेन्द्र पासवानको टाउको र दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि जनकपुरतर्फ पठाइएको छ ।

त्यस्तै, मोटरसाइकलको पछाडि सवार मलंगवा नगरपालिका–६ का रामानन्द पासवानका १८ वर्षीय छोरा बब्लु कुमार पासवानको अनुहार र टाउकोमा चोट लागेको छ । उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ । उनलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि जनकपुरतर्फ पठाइएको छ ।

दुर्घटनामा मधेश प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका–६ बस्ने नागेन्द्र राय यादवका ३० वर्षीय छोरा सुमित यादव पनि गम्भीर घाइते भएका थिए । उनको टाउको, नाक र मुखमा चोट लागेको थियो । उपचारकै क्रममा साँझ ७ बजेर ४९ मिनेटमा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जनाको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरी चौकीको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया बढाउन इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक शिव कटेलको कमाण्डमा टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै