रानीगन्जमा दसैंअघि नै तरकारी बजार सञ्चालनमा ल्याउन हुँदै छ तीव्र तयारी

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १७ रानीगन्जमा तरकारीको थोक तथा खुद्रा बजार सञ्चालन गर्ने तयारी व्यापक रूपमा थालिएको छ।

स्थानीय तथा नगरपालिकाको पहलमा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको स्थानमा बजार सञ्चालन गर्न लागिएको हो। तरकारी बजार सञ्चालन हुने भएपछि स्थानीयमा उत्साह छाएको छ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको भए पनि पूर्वाधार तथा अत्यावश्यक सेवा–सुविधाको अभावमा रानीगन्ज पछाडि पर्दै आएपछि अहिले भने यहाँका स्थानीय बजार सन्चालन गर्न तातिएका हुन्।

रानीगन्जबाट लालबन्दीको मुख्य बजार क्षेत्र करिब तीन किलोमिटरको दूरीमा छ। तर, बीचमा जंगल पर्ने भएकाले स्थानीयलाई मुख्य बजारसम्म पुग्न सहज छैन। रानीगन्जको उत्तरतर्फ लालबन्दी नगरपालिका–१५ र १६ नम्बर वडा परवानीपुर पर्छन्।

स्थानीयका अनुसार रानीगन्जमा तरकारी बजार सञ्चालन हुँदा यस क्षेत्रका कृषक तथा व्यापारीलाई सहज हुनेछ। ‘लालबन्दीको पनि चलोस्, रानीगन्जको पनि चलोस् भन्ने हाम्रो चाहना हो,’ एक स्थानीयले भने, ‘यहाँ पर्याप्त ठाउँ छ। लालबन्दीको बजार क्षेत्र साँघुरिँदै गएकाले रानीगन्ज तरकारी बजारका लागि उपयुक्त छ।’

रानीगन्जमा नयाँ तरकारी बजार सञ्चालन गर्दा लालबन्दीमा के होला भन्ने प्रश्न गर्दा रानीगन्ज तरकारी व्यवस्थापन समितिका सदस्य शंकर हेन्जन भन्छन्, ‘असरको कुरा भन्दा पनि हामीले रानीगन्जलाई तरकारी बिक्रीस्थलको हब बनाउन खोजेका हौं, यहाँ तरकारी बजार सन्चालन हुँदा बरु सबैलाई फाइदा हुन्छ।’

उनक अनुसार रानीगन्जमा बजार सञ्चालन गर्नुको उद्देश्य लालबन्दीको भीडभाड घटाउँदै रानीगन्जलाई पनि व्यापारिक केन्द्रका रूपमा विकास गर्नु हो।

‘उता (लालबन्दी) को भीडभाड कम गर्दै रानीगन्जलाई पनि व्यापारिक हब बनाउन खोजेका हौँ। सबै जना लगभग सहमत छन्,’ उनले थपे। उनका अनुसार यस विषयमा व्यापारीहरू पनि सहमत भइसकेका छन्। लालबन्दी नगरपालिका पनि रानीगन्जमा तरकारी बजार सञ्चालन गर्ने विषयमा सकारात्मक देखिएको छ।

साँघुरिँदै गएको लालबन्दी बजारको विकल्प

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दीको बजार क्षेत्रमा सडक विस्तारसँगै बजार क्षेत्र पनि साँघुरिँदै गएको छ। लालबन्दी तरकारी उत्पादन तथा बिक्रीवितरणका लागि परिचित क्षेत्र हो। यहाँ उत्पादित तरकारी नारायणघाट, हेटौँडा, काठमाडौं, सिन्धुली, विराटनगर, बुटवल, पोखरालगायत देशका विभिन्न ठूला सहरमा पुग्ने गरेको छ।

रानीगन्जमा बजार सञ्चालन भएपछि ईश्वरपुर, लालबन्दीको परवानीपुर, ईश्वरपुरकै घारीबथान तथा बर्दिबास नगरपालिकाका विभिन्न स्थानका कृषक तथा उपभोक्तालाई समेत सहज हुने अपेक्षा गरिएको छ।

बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खड्काका अनुसार सबै कुरा मिलेको अवस्थामा दशैंअघि नै बजार सञ्चालन गर्ने तयारी छ। त्यसका लागि लालबन्दी कृषि थोक बजार समितिसँग समेत छलफल भइरहेको उनले बताए।

‘जतिसक्दो चाँडो बजार स्थापना गर्न हामी लागिरहेका छौँ,’ खड्काले भने। उनका अनुसार देउता महाकाली मठ व्यवस्थापन संस्थाको नाममा रहेको करिब साढे चार बिघा जग्गामा बजार व्यवस्थापन गर्ने तयारी भएको छ।

उक्त स्थानमा दुई वर्षअघिदेखि नै टहरा निर्माण भइसकेका छन्। टहरा निर्माणमा तीनै तहका सरकारले लगानी गरेको खड्काले बताए। उनका अनुसार रानीगन्जमा नेपालको नम्बर एक तरकारी बजार बनाउने उद्देश्य राखिएको छ। बजार सञ्चालनको सुरुवाती चरणमा व्यापारीलाई एक वर्षसम्म करसमेत मिनाहा गरिने उनले जानकारी दिए।

तर, केही व्यापारीले अझै पूर्ण रूपमा विश्वास गर्न नसकेकाले सुरुवाती चरणमा समस्या आउन सक्ने खड्का बताउँछन् । उनका अनुसार २०५३ सालमा पनि जग्गाको अभावका कारण रानीगन्जमा करिब एक वर्ष तरकारी बजार सञ्चालन भएको थियो। त्यसबेला बजारलाई निरन्तरता दिन पहल नहुँदा बजार टिक्न नसकेको उनले बताए।

तर तरकारी बजार सञ्चालन हुँदैमा मात्रै रानीगन्जको अवस्था पूर्ण रूपमा परिवर्तन नहुने स्थानीयको बुझाइ छ। कृषकले तरकारी बिक्री गरेपछि आफूलाई आवश्यक लत्ताकपडा, खाद्यान्नलगायत सामग्री खरिद गर्ने पर्याप्त बजारको अभाव यहाँ छ।

बजार व्यवस्थापन समितिका सदस्य हेन्जन भने तरकारी बजारसँगै अन्य व्यापारिक गतिविधि पनि विस्तार हुने बताउँछन्। ‘तरकारी बजार बसेको केही समयमै यहाँ ठूला खाद्यान्न र लुगा पसल खुल्न थाल्छन्। हामी त्यसको पनि तयारीमा जुटेका छौँ,’ उनले भने, ‘यहाँ पर्याप्त ठाउँ भएकाले व्यापारीहरूले त्यसका लागि पनि ठाउँ पाउनेछन्।’

रानीगन्जमा तरकारी बजार सञ्चालन भएमा स्थानीय कृषकलाई उत्पादन बिक्री गर्न सहज हुने तथा आसपासका क्षेत्रका उपभोक्ता र व्यापारीलाई समेत नयाँ बजारको विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै