मलंगवा । सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरियामा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक साइकलयात्री घाइते भएका छन् ।
शनिबार साँझ करिब ७ः१५ बजे गम्हरियाबाट मलंगवातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–०३–०१९ प ३०७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी गम्हरिया निवासी करिब ७० वर्षीय बालमिकी राय यादव गम्भीर घाइते भएका थिए । टाउको र नाकबाट अत्यधिक रक्तश्राव भएको तथा दाहिने खुट्टाको हड्डी भाँचिएको अवस्थामा उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पताल पुर्याएको केही बेरमै साँझ ७ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सोही दुर्घटनामा परी मलंगवा नगरपालिका–४ निवासी करिब ५९ वर्षीय साइकलयात्री महेश महतो घाइते भएका छन् । उनको कम्मर र दुवै खुट्टामा चोट लागेको छ । प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पेट्रोल पम्प, सर्लाहीबाट प्रहरी सहायक निरीक्षक अकिल खड्काको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरेको थियो ।
प्रहरीले मोटरसाइकल र त्यसका चालक, कबिलासी नगरपालिका–६ निवासी करिब ५० वर्षीय रामलोचन रायलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।