लालबन्दी । सर्लाही प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय हरिवन र लागूऔषध नियन्त्रण ब्युरो बर्दिवास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले हरिवन नगरपालिका–९ स्थित पूर्व जाने बस काउन्टर पछाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
बरहथवाबाट नयाँरोडतर्फ आउँदै गरेको ‘अन टेस्ट’ एफजेड मोटरसाइकल रोकी जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूले प्लास्टिकको बोरा तथा झोलामा लुकाइछिपाइ ल्याएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद लागूऔषधमा स्पास ग्लेनपारा २ हजार १४ पिस, एन्टिकफ ३ हजार ५ सय ६ पिस, मेफ्टाल स्पास १ हजार ५ सय पिस र टापेन्टाडोल ३ हजार ५ सय १४ पिस गरी जम्मा १० हजार ५ सय ३४ पिस ट्याब्लेट रहेका छन्।
त्यस्तै, सोही दिन जिल्लाको बागमती नगरपालिका–४ सानो डाबरी क्षेत्रमा सञ्चालन गरिएको ‘कर्डन एन्ड सर्च’ अप्रेसनका क्रममा प्रहरीले कोडिन फस्फेट ट्रिप्रोलिडिन हाइड्रोक्लोराइड (ओनेरेक्स) सिरप ४ बोतल सिलप्याक र ३२ थान ओनेरेक्स समेत बरामद गरेको छ।
प्रहरीले घटनामा संलग्न सर्लाहीको बागमती नगरपालिका–१० सोल्टी बजार बस्ने ४४ वर्षीय प्रदीप महतो, रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराही टोल बस्ने २८ वर्षीय सुरज थापा र सर्लाहीको हरिवन नगरपालिका–४ डाबरी बस्ने २६ वर्षीय कुलबहादुर वर्मालाई पक्राउ गरेको छ।
पक्राउ परेका तीनै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय हरिवनबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद प्रसाद गौतमले जानकारी दिए।