काठमाडौं । एक महिनाअघि बल्खुमा राति ‘रिच्याङ’ भनेर चिनिने ३४ वर्षीय सुमन लामामाथि खुकुरी प्रहार भयो । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित बर्नहाट नजिकै उनीमाथि आक्रमण गर्ने समूहले योजना बनाएका थिए ।
आक्रमण गर्नुअघि उनको गतिविधिबाट पीडित रहेका यातायात व्यवसायी र आक्रमणमा संलग्न व्यक्तिबीच आर्थिक लेनदेन भएको प्रहरी अनुसन्धाबाट खुलेको छ। बारा सुमो काउन्टरका सञ्चालक धर्मेन्द्र साह कानु र हिमाल पहाड तराई सुमो काउन्टरका सञ्चालक धिरज यादवले सुमनलाई ‘तह लगाउनुपर्ने’ भन्दै क्रमशः ५० हजार र २० हजार रुपैयाँ दिने प्रस्ताव गरेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पेश्कीस्वरूप पाँच हजार रुपैयाँसमेत दिएका थिए। सुमनमाथि हातपात, धम्की र काउन्टरहरूमा हुलहुज्जत गर्ने गरेको आरोप लगाउँदै उनलाई ‘तह लगाउन’ सन्तोष तामाङलाई परिचालन गरिएको अनुसन्धानबाट खुलेको कार्यालयका प्रमुख सन्तोष खड्काले बताए ।
आक्रमणपछि हुने कानुनी तथा अन्य परिणाम आफूले बेहोर्ने भन्दै सन्तोषलाई भनिएको बयानबाट खुलेको उनको भनाइ छ । उनका अनुसार सन्तोषले आफ्ना साथी सुवास भन्ने सुनिल कुमार तामाङसँग सल्लाह गरेको र उनीहरू खुकुरी तथा फलामको दाप लिएर बल्खुतर्फ गएको अनुसन्धानमा खुलेको छ।
पहिले ‘रेकी’, कोठामै आक्रमण
बल्खु पुगेपछि सन्तोष र सुनिलले भुवन सिंह बम्जन र सोमबहादुर तामाङलाई भेटेका थिए । उनीहरू पनि गाडी लाइनमा काम गर्ने भएकाले सुमनलाई खोज्ने क्रममा उनीहरूको सहयोग लिएका थिए ।
सोमबहादुरले सुमन बस्ने कोठा देखाइदिएका थिए। त्यसपछि आक्रमणको योजना बनाइएको र सोमबहादुरलाई बाटोमा बसेर मानिसहरूको आवतजावतबारे निगरानी गर्न खटाएका थिए ।
सुनिल र सन्तोष सुमनको कोठामा प्रवेश गरेका थिए। उनीहरूले अन्धाधुन्ध खुकुरी तथा फलामको दाप प्रहार गर्दा सुमन घाइते भएका थिए।
आक्रमणपछि उनीहरू तत्काल घटनास्थलबाट निस्किएर टौखेल पुगेका थिए। त्यहाँ करण तामाङले जस्ताले बनाएको कोठामा उनीहरूले घटनाका बेला लगाएका कपडा फेरेको र खुकुरी तथा दाप रहेको झोलासमेत त्यहीँ छाडेर भागेका थिए ।
टौखेलबाट भेटियो खुकुरी र कपडा
प्रहरीका अनुसार पक्राउ परेका सन्तोष तामाङले दिएको सूचनाका आधारमा टौखेलस्थित करण तामाङको घरकोठाबाट घटनामा प्रयोग भएको भनिएको खुकुरी, दाप तथा वारदातका बेला प्रतिवादीहरूले लगाएका कपडा बरामद गरिएको छ।
घटनास्थलबाट टौखेलसम्म पुगेको समूह, बाटोमा गरिएको भनिएको रेकी, हतियारको प्रयोग र घटनापछि कपडा परिवर्तन गरी हतियार लुकाइएको भनिएको घटनाक्रमले आक्रमण पूर्वतयारीसहित भएको हुनसक्ने अनुसन्धानबाट खुलेको छ ।
धर्मेन्द्र साह कानु र अन्य व्यक्तिमाथि लगाइएको आरोप तथा घटनामा उनीहरूको वास्तविक भूमिका अनुसन्धानबाट खुल्ने खड्काले जानकारी दिए ।
भदौ ५ गते राति करिब पौने ९ बजे बल्खुस्थित वर्नहाट कलेज पछाडिको गल्लीमा सुमन लामामाथि खुकुरी प्रहार भएको थियो।
घटनामा घाइते भएका लामाको उपचार भइरहेको छ भने प्रहरीले घटनामा संलग्न अन्य पक्ष र घटनाको आर्थिक तथा योजनागत पाटोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चार, एक जना अझै फरार
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। धादिङ खनियाबास–५ घर भई हाल तारकेश्वर–४ लोलाङ बस्ने ३१ वर्षीय सन्तोष तामाङ, बारा जितपुर सिमरा घर भई हाल बल्खु बस्ने ३० वर्षीय सोमबहादुर तामाङ, बारा महागढीमाई–१० घर भई हाल बल्खु बस्ने ३४ वर्षीय धिरज भन्ने बलिराम यादव र नुवाकोट म्यागङ–मैवल घर भई हाल तारकेश्वर–४ पुरानो गुह्येश्वरी बस्ने ३१ वर्षीय सुवास भन्ने सुनिल कुमार तामाङ रहेका छन् ।
प्रहरीका अनुसार सोमबहादुरलाई बल्खु, सन्तोषलाई लोलाङ, सुनिललाई पुरानो गुह्येश्वरी र बलिराम यादवलाई बल्खुबाट पक्राउ गरिएको हो।
घटनामा जोडिएका करण यादवलाई पनि पक्राउ गरेर अनुसन्धान गरिएको थियो। तर हालसम्म घटनामा उनको संलग्नता नखुलेपछि जिम्माजमानीमा छाडिएको प्रहरीले जनाएको छ।
यता घटनाको मुख्य योजनाकारका रूपमा अनुसन्धानमा जोडिएका भनिएका धर्मेन्द्र साह कानु भने अझै फरार रहेको प्रहरीको विवरणमा उल्लेख छ।