सर्लाहीमा १८ वर्षअघिको हत्याकाण्डका फरार प्रतिवादी पक्राउ

लालबन्दी । सर्लाहीमा १८ वर्षअघि गोली हानी हत्या गरिएको घटनाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। २०६५ सालमा भएको वीरेन पासवानको हत्यामा संलग्न रहेको आरोपमा धनुषाको कपटोल स्थायी घर भई हाल लालबन्दी नगरपालिका–२ बस्दै आएका इन्दल पासवान पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, २०६५ साल फागुन १२ गते नेत्रगञ्ज–२ का वीरेन पासवान ‘चिताइन मेला’ हेर्न भनी घरबाट निस्किएका थिए। सोही दिन राति करिब १० बजे उनी नेत्रगञ्ज–२ स्थित खाली जग्गामा छातीमा गोली लागेको अवस्थामा मृत फेला परेका थिए।

घटनाको अनुसन्धानका क्रममा इन्दल पासवानसहितका व्यक्तिहरूको संलग्नता रहेको खुलेपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो। घटनापश्चात् लामो समयदेखि फरार रहेका इन्दललाई इलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुरको संयुक्त टोलीले लालबन्दी नगरपालिका–२ बाट नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय हरिपुरबाट आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी उनलाई मंगलबार सर्लाही जिल्ला अदालतमा पेस गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी वेदप्रसाद गौतमका अनुसार, अदालतको आदेशबमोजिम इन्दललाई पुर्पक्षका लागि सर्लाही कारागार चलान गरिएको छ।

प्रहरीको रेकर्डअनुसार पक्राउ परेका इन्दल यसअघि नै आपराधिक गतिविधिमा संलग्न रहँदै आएका व्यक्ति हुन्। उनी यसअघि हातहतियार तथा खरखजाना मुद्दामा महोत्तरी जिल्ला अदालतबाट दोषी ठहर भई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन्।

साथै, उनीविरुद्ध महोत्तरी र धनुषामा चोरी तथा डाँकासम्बन्धी मुद्दाहरू समेत रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै