ब्रह्मपुरी : गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधनप्रति गहिरो शोक व्यक्त गर्दै सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाले आज (सोमबार) पालिकाभर सार्वजनिक बिदा दिएको छ।
गाउँ कार्यपालिकाको बैठकले अध्यक्ष साहको निधनमा शोक प्रस्ताव पारित गर्दै पालिका मातहतका सम्पूर्ण कार्यालय तथा संस्थाहरूमा शोक बिदा दिने निर्णय गरेको हो। निर्णयअनुसार आज गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू, शिक्षण संस्था तथा स्वास्थ्य संस्थाहरू बन्द रहने पालिकाले जनाएको छ।
ब्रह्मपुरी गाउँपालिका–२ निवासी ८५ वर्षीय अध्यक्ष साहको गत बुधबार बिहान काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो। उनी केही समयदेखि ‘अप्लास्टिक एनिमिया’ नामक दुर्लभ रक्तसम्बन्धी रोगबाट पीडित भई उपचाररत थिए।
स्वर्गीय साह वि.सं. २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट ब्रह्मपुरी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए।