हरिवनस्थित सुन पसलमा चोरी गर्ने दुई भारतीय नागरिक गहनासहित पक्राउ

हरिवन । सर्लाहीको हरिवन बजारस्थित एक सुनचाँदी पसलबाट गरगहना चोरी गरी फरार भएका दुई जना भारतीय नागरिकलाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार बिहान करिब ४ बजे हरिवन नगरपालिका–११ स्थित स्थानीय सुरज साहद्वारा सञ्चालित ‘रिद्धि सिद्धि ज्वेलर्स’मा चोरी भएको थियो। पसलमा चोरी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले खोजतलास तीव्र पारेको थियो।

खोजतलासका क्रममा हरिवन नगरपालिका–११ स्थित कबिन कार्कीको घरमा डेरा गरी बस्दै आएका दुई भारतीय नागरिकलाई चोरी भएका गरगहनासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा भारत, बिहार राज्यको मोतिहारी जिल्ला, आदापुर थाना अन्तर्गत औरहिया पञ्चायत वडा नं। ११ बस्ने २५ वर्षीय जुनैद अंसारी र सोही जिल्लाको झरोखर थाना अन्तर्गत आठमोहनी पञ्चायत वडा नं। १२ बस्ने २८ वर्षीय रियाज अंसारी रहेका छन्।

प्रहरीले उनीहरूको कोठाबाट सुनको पेण्डल ३५ थान ९७६।८ लाल,सुनको कानको टप ३९ थान ९१० लाल,सुनको चन्द्रमा ८ थान ९१३।६ लाल,सुनको नौगेडी १ थान ९९।२ लाल,सुनको बेबी माला ५ थान ९६।४ लाल,सुनको तिलहरी १ थान ९६।२ लाल, सुनको औंठी ४ थान ९६ लाल, सुनको मोती क्लिप १ थान ९२।५ लाल, सुनको खुकुरी १ थान ९१ लाल,सुन जस्तो देखिने नक्कली हार १ थान, फलाम काट्ने कटर १ थान र एन्ड्रोइड मोबाइल १ थान बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखी चोरी सम्बन्धी मुद्दामा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै