मलंगवा । सर्लाहीस्थित भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत नायब सुब्बा एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको विशेष टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत नासु निर्मल तिमिल्सिनालाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस माग गरेका थिए। सेवाग्राहीसँग घुस रकम लिइरहेको भन्ने विशेष सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई उक्त रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले घटनाको पुष्टि गर्दै पक्राउ परेका नासु तिमिल्सिनामाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।