बागमती । सर्लाहीको बागमती नगरपालिका–१२ बोटे टोलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
पुतली चोकबाट बोटे टोलतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका मोरङको सुन्दरहरैँचा-६ घर भई हाल सर्लाहीको बागमती नगरपालिका-१२ पुतलीचोक दिदिको घर बस्दै आएका २५ वर्षीय रुपक विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको हो।
बुधबार दिउँसो करिब ४ बजे बागमती नगरपालिका–१२ स्थित भित्री सडक खण्डमा को ११ प ३७९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक विश्वकर्माको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
प्रहरीका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय कर्मैयामा जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक रोशन लामिछानेको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घाइते विश्वकर्मालाई तत्काल उद्धार गरी उपचारका लागि हरिवनस्थित नमुना अस्पताल पुर्याएको थियो। अस्पतालमा चिकित्सकले परीक्षण गर्ने क्रममा दिउँसो ४ बजेर २० मिनेटमा मृत घोषणा गरेका थिए।