सर्लाहीमा वृद्ध दम्पतीमाथि इँटाले हानेर हत्या गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

लालबन्दी । सर्लाहीको हरिपुर्वा नगरपालिका–९, बसन्तपुरमा इँटा प्रहारबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही स्थानका अन्दाजी १९ वर्षीय शंकर कुमार यादवलाई पक्राउ गरेको छ ।

हरिपुर्वा–९, बसन्तपुरस्थित मुखिया चोकमा आफ्नै घरमा सानो किराना पसल सञ्चालन गर्दै आएका अन्दाजी ७४ वर्षीय सुकदेव (विज्ञप्तिमा वासुदेव समेत उल्लेख) साह तेली र उनकी ७३ वर्षीया श्रीमती जिवछी देवी कार्तिक २८ गते बिहान घरभित्रै गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कार्तिक २८ गते बिहान ढिलासम्म पनि वृद्ध दम्पती नउठेपछि जेठा छोराले घरमा आई ढोका खोलेर हेर्दा दुवै जनाको टाउको र अनुहारमा गम्भीर चोट लागेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी टोलीले दुवै घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम, धनुषा पठाएको थियो । उपचारकै क्रममा मंसिर ३ गते अस्पतालले साहलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका क्रममा आरोपित यादव कार्तिक २७ गते राति करिब १० बजे घरभित्र प्रवेश गरी दम्पती सुतिरहेको अवस्थामा थाहै नदिई इँटाको टुक्राले टाउको र अनुहारमा अन्धाधुन्ध प्रहार गरी फरार भएको खुलेको छ । प्रहरीले यादवलाई कार्तिक २८ गते नै आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका यादव लागुऔषध गाँजा सेवनकर्ता रहेको र मृतक तथा उनीबीच लागुऔषध गाँजा किनबेचको क्रममा विवाद उत्पन्न भई सोही विषयलाई लिएर रिसइबी साँधी कुटपिट गरेको खुल्न आएको छ ।

सुरुमा ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेकोमा घाइते वृद्धको मृत्यु भएपछि हाल यादवविरुद्ध ज्यान मार्ने उद्योग तथा ज्यान सम्बन्धी कसुर मुद्दामा इलाका प्रहरी कार्यालय केशरगंजबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद प्रसाद गौतमले मंसिर ५ गते जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

सबै