भारतलाई हराउँदै पाकिस्तानले जित्यो पहिलो स्वर्णपदक

भारतीय खेलाडी हराउँदै पेरिस ओलम्पिक २०२४ मा पाकिस्तानले पहिलो पदक जितेको छ।

पहिलो पदक नै पाकिस्तानले स्वर्ण जितेको हो। ज्याबलिन थ्रोको प्रतिस्पर्धामा भारतीय खेलाडी नीरज चोपडालाई दोस्रो बनाउँदै पाकिस्तानका अरसद नदीमले स्वर्ण पदक जितेका हुन्।

नदीमले ९२ दशमलव ९७ मिटर (ओलम्पिक रेकर्ड) भाला फ्याँकेका थिए। चोपडाले भने ८९ दशमलव ४५ मिटर फ्याँके। त्यस्तै ग्रेनाडाका एन्डरसन पिटर्सले यी स्पर्धामा कास्य जिते।

चोपडाले यसअघि टोकियो ओलम्पिकमा भने स्वर्ण जितेका थिए। उनी लगातार दुई ओलम्पिक पदक जित्ने तेस्रो भारतीय खेलाडी बनेका छन्।

नदीमले २०२३ विश्व च्याम्पियनसिपमा रजत पदक जितेका थिए। उक्त जितसँगै नदीम २०२३ को बुडापेस्टमा भएको विश्व च्याम्पियनसिपमा पदक जित्ने पहिलो पाकिस्तानी खेलाडी बनेका थिए।

यसका साथै नदीमले बर्मिङ्घम २०२२ मा भएको राष्ट्रमण्डल खेलकुदमा स्वर्ण पदक जितेर पाकिस्तानको ६० वर्षको प्रतीक्षाको अन्त्य गरेका थिए। नदीम र चोपडाबीच अहिलेसम्म ९ अन्तर्राष्ट्रिय प्रतियोगितामा आमनेसामने भएका छन्, जसमा चोपडा नै हाबी भएका थिए।

भारतले जारी पेरिस ओलम्पिकमा एक रजत र चार कास्य जितेको छ भने पाकिस्तानले एक मात्र स्वर्ण जितेको छ।

सम्बन्धित समाचार

सबै