महोत्तरी : महोत्तरीमा ट्याक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
जिल्लाको गौशाला नगरपालिका-३ इटाटार सुखलैया पोखरीस्थितको सडकखण्डमा पश्चिमबाट पुर्वतर्फ गईरहेको ज.२ त. २० नम्बरको ट्याक्टरले विद्यालय गइरहेका ३ जना बालबालिकालाई ठक्कर दिएको थियो।
सो दुर्घटनामा परी गौशाला-३ बस्ने रामकरण महतोको १२ वर्षीया छोरी जिया कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।
त्यस्तै,बटेश्वर गाउँपालिका वडा २ बस्ने संजय कुमार महतोको छोरा १२ वर्षीय सुरज कुमार र क्षिरेश्वर नाथ नगरपालिका-८ महेन्द्रनगर बस्ने राजी प्रसाद सिंह की ६ वर्षीया छोरी अन्शिका घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि जनकपुर पठाइएको छ।
उक्त दुर्घटनामा परी सामान्य घाइते भएकी बालिकालाई ट्याक्टरले मार्ने मनसायले ब्याक गरेर किचेको स्थानीयहरुले आरोप लगाएका छन्।
दुर्घटना पश्चात् फरार ट्याक्टर चालक प्रेमचन्द महतो तिब्र रुपमा खोजी र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।