११ र १२ गतेको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ प्रणालीमा दुई करोडको क्षति

हरिवनः गत असोज ११, १२ र १३ गतेकोअविरल वर्षासँगै आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ कार्यालय अन्तर्गत करिब रु दुई करोड बराबरको भौतिक क्षति भएको छ । साथै सिँचाइ प्रणालीमा पुर्‍याएको क्षतिका कारण सिँचाइको कार्यमा समस्या उत्पन्न भएको कार्यालय प्रमुख रामदुलारी शरण भगतले जानकारी दिए।

बाढीले सो कार्यालयअन्तगर्त झाँझ सिँचाइ प्रणलीमा रहेका मूल नहर र शाखा नहरको (बैंक) डिल र तटबन्ध कटान गरेको, विभिन्न स्थानमा नहर तोडफोर गरेको र नहरको गेट तथा हेडवर्क्समा क्षति पुर्‍याएको छ।

झाँझ नदीमा एक्कासि आएको बाढीले रौतहट जिल्लामा रहेको झाँझ सिँचाइ प्रणालीमा करिब दुई करोड मूल्य बराबरको भौतिक रूपमा क्षति पुगेको कार्यालयको प्रारम्भिक अनुमान छ। रौटहटको महम्मदपुर, शिवनगर, भेडियाही, देवाहीगुनाही तथा जयनगरलगायत ग्रामीण क्षेत्रमा बाढीले ठाउँठाउँमा भाँझ सिँचाइ प्रणालीको संरचना भत्काएको थियो।

झाँझ सिँचाइ प्रणालीबाट चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको सो कार्यालयको सिँचाइ प्रणालीमा भएको क्षतिका सम्बन्धमा अनुगमन तथा निरीक्षण गरी सो क्षतिबारे जानकारी दिएको हो।

उक्त क्षतिग्रस्त संरचनाको मर्मत सम्भार तथा निमार्णमा ठूलो रकम लाग्ने उनले बताए। समयमा मर्मत नगरेमा त्यहाँ आउँदो हिउँदे बालीमा नहर सञ्चालन गर्न नसक्ने अवस्था रहेको प्रमुख भगतले बताए।

उक्त कार्यालयअन्तर्गत सिँचाइ आयोजनाको निर्माण २०३९/४० बाट सुरु भई २०४४/४५ बाट कार्यान्वयनमा आएको बताइएको छ।

कार्यालयअन्तर्गत सर्लाहीतर्फ हीरापुर ब्यारेज मनुष्मारा सिँचाइ प्रणाली प्रथमबाट दुई हजार आठ सय हेक्टर तथा मानपुर ब्यारेज मनुष्मारा सिँचाइ प्रणाली दोस्रोबाट तीन हजार दुई सय हेक्टर गरी छ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।

रौतहटतर्फ झाँझ सिँचाइ प्रणालीबाट चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको छ। अर्थात् सर्लाही तथा रौतहटमा गरी कूल १० हजार हेक्टर जमिनमा सो कार्यालयबाट सिँचाइ सुविधा पुर्‍याउँदै आएको कार्यालयले जनाएको छ।

सो आयोजनाबाट हाल ६० हजार मेट्रिकटनभन्दा बढी खाद्यान्न उत्पादन सुरु भएको कार्यालय प्रमुख भगतले जानकारी दिए। चालू आर्थिक वर्षमा सो कार्यालयको पुँजीगत खर्च छ करोड तथा चालूगत खर्च एक करोड ११ लाख रहेको छ।

सम्बन्धित समाचार

सबै