सिस्नेरीमा मृत्यु भएका प्रशिक्षार्थी खेलाडीका अभिभावकको पत्रकार सम्मेनल, दोषीमाथि कारबाही माग

लालबन्दी : दोषीमाथि अझै पनि कारबाही नभएको भन्दै सिस्नेरी पहिरोमा मृत्यु भएका एन्फा प्रशिक्षार्थी बालकहरूका अभिभावकहरूले काठमाडौँमा आज पत्रकार सम्मेलन गरेका छन्।

असोज १२ गते मकवानपुरको सिस्नेरीमा गएको पहिरोमा मृत्यु भएका ६ प्रशिक्षार्थी खेलाडीहरूका अभिभावकले आज त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा न्याय माग्दै पत्रकार सम्मेलन गरेका हुन्।

उक्त पहिरोमा मृत्यु भएका सर्लाहीका १३ वर्षीय आदित्य बलम्पाकीका अभिभावक भरत थापाले एन्फाका केही मानिसले कमाउने उद्देश्य राखेर सिस्नेरीजस्तो जोखिमपूर्ण ठाउँमा बच्चाहरू राखेको आरोप लगाए।

एन्फाको गैरजिम्मेवारीले बच्चाहरूको ज्यान गएको भन्दै उनले कसको उद्देश्य पूर्ति गर्न एन्फाले त्यहाँ एकेडेमी राखेको भनी प्रश्न गरेका थिए। ‘एन्फाले सिस्नेरीमा ४० जनाभन्दा बढी बच्चा कसको निर्देशनमा राखेको ?’, उनले प्रश्न गरे।

अविरल वर्षा हुन सक्ने सूचना जारी गर्दा गर्दै एन्फाले बच्चाहरूलाई त्यो क्याम्पबाट सारिदिएको भए दुर्घटना नहुने उनको भनाइ थियो।

एन्फाका केही व्यक्तिहरूले कमाउने उद्देश्य राखेर सिस्नेरीजस्तो जोखिमयुक्त ठाउँमा अबोध बालबालिकालाई राखेको थापाले आरोप लगाए। गल्ती गरिसकेपछि पनि आफ्नो गल्ती लुकाउन जाहेरीमार्फत एन्फाले शव दिएको भन्दै थापाले आक्रोश पोखेका थिए।

‘तीन दिनसम्म आदित्यको लास दिएन, आदित्यको शव रामेछाप पुर्‍याइयो, धनुषामा लास झार्देर भागेको थियो। यहाँसम्म तल्लोस्तरको काम एन्फाबाट भएको छ,’ थापाले आक्रोश पोखे, ‘एन्फाका साथीहरूले सहयोग गर्लान् भनेको त उल्टै लासमाथि राजनीति गर्यो भनेर आरोप लगाए।’

असोज १२ गते  गएको पहिरोमा परी एन्फाको सिस्नेरीमा रहेको एकेडेमीका ६ जना प्रशिक्षार्थी खेलाडीको मृत्यु भएको थियो। उक्त दुर्घटना लापरवाहीले भएको भन्दै चौतर्फी आलोचना भएको थियो।

सम्बन्धित समाचार

सबै