कमला-ढल्केबर-पथलैया सडक स्तरोन्नति सुरु हुँदैः लालबन्दी, हरिवन र नयाँरोडमा फ्लाइओभरसहित अण्डरपास

बर्दिबास – लामो समयदेखि चर्चा र प्रतीक्षाको केन्द्रमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) स्तरोन्नतिको काम यही महिनाबाट सुरु हुने भएको छ।

पूर्वी खण्डको कमला–ढल्केबर–बागमती ७४.७५ किलोमिटर लम्बाइएको यो सडक विस्तारका लागि प्रक्रियागत कामहरू अन्तिम चरणमा पुगेको र निर्माण सुरु गर्न निर्धारित समयको प्रतीक्षामा रहेको गौरीडाँडास्थित कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) ले जनाएको छ ।

आयोजना प्रमुख छविलाल पौडेलले विश्व बैंकको १८ अर्ब ६० करोड सहयोगमा पूर्वी खण्डको सन् २०२५ जनवरी १ अर्थात् पुस १६ गतेदेखि कमला पुल पश्चिम, धनुषा जिल्लाको बडहरी र सर्लाहीको फूलजोर गरी तीन ठाउँबाट एकै साथ स्तरोन्नति हुन लागेको बताए।

कामलाई गति दिन बुधबार गौरीडाँडास्थित आयोजनाको कार्यालयमा बसेको बैठकले बर्दिबास नगरप्रमुख प्रह्लाद क्षत्रीको संयोजकत्वमा गुनासो व्यवस्थापन समिति गठन गरेको छ। समितिमा स्तरोन्नति हुने सडक खण्डमा पर्ने वडाका वडाध्यक्षहरू, आयोजना प्रमुख छविलाल पौडेल, परामर्शदाता, निर्माण व्यवसायी कम्पनीका प्रमुखहरूको प्रतिनिधित्व गराइएको छ।

त्यस्तै, इन्जिनियरहरू भोलाप्रसाद साह, राजकिशोर सिंह र रमेशकुमार पाण्डेयको संयोजकत्वमा क्रमशः लट नं १, २ र ३ का लागि गुनासो व्यवस्थापन उपसमितिसमेत गठन गरिएको छ।

नेपाल सरकार र विश्व बैंकबीच १७ जुलाई २०२० मा भएको वित्तीय सम्झौता (फाइनान्सिङ एग्रिमेन्ट) कार्यान्वायनका लागि गुनासो व्यवस्थापन समिति र उपसमिति गठन गरिएको हो।

सडक स्तरोन्नतिका लागि तयार पारिएको वातावरणीय तथा सामाजिक प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएबमोजिम निर्माण कार्यान्वयनका क्रममा देखापर्ने समस्या, गुनासो, विरोध र विमति जस्ता परिस्थितिको उचित व्यवस्थापन गरी आयोजना कार्यान्वयनलाई प्रभावकारी ढङ्गमा अघि बढाउन समिति गठन गरिएको जनाइएको छ।

राजमार्ग स्तरोन्नतिका अघिल्ला प्याकेजहरू सुस्त गतिमा भएको भनि चौतर्फी आलोचना भइरहेको बेला कमला–ढल्केबर–पथलैया सडक आयोजनाको पूर्वी खण्डको काम तीव्र गतिमा अघि बढाउन तीन लटमा ठेक्का व्यवस्थापन गरिएको पौडेलले बताए।

स्तरोन्नति हुन लागेको पूर्वी खण्डको पहिलो लटमा पर्ने कमला–बडहरी २२.०७ किलोमिटर सडक इकेके इन्फ्रास्ट्रकचर लिमिटेड इन्डियाले ५८० करोडमा ठेक्का कबोल गरेको छ।

त्यस्तै दोस्रो लटमा पर्ने बडहरी–फुलजोर २९.७४ किमी र तेस्रो लटअन्तर्गत फूलजोर–बडहरी २२.९४ किमी चाइनिज कम्पनी एसडब्ल्यु इजे र रखुवा कन्सट्रक्सन कम्पनी आरसीसी ज्वाइन्ट भेन्चरले एक हजार २८० करोडमा ठेक्का लिएको गौरीवासस्थित कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) ले जनाएको छ।

आयोजना प्रमुख पौडेलका अनुसार यो ठेक्का कमला र बागमती पुल बाहेकको हो। पूर्वी खण्डमा पर्ने यी दुवै नदीमा नयाँ प्रविधिको सिग्नेचर पुल वन्ने निश्चित प्रायः भए पनि यसको ठेक्का भने अझै लागि नसकेको उनले बताए।

अहिलेको दुई लेनको पूर्वपश्चिम महेन्द्र राजमागलाई एशियाली मापदण्ड अनुसार १८ मिटर चौडाइको ४ लेनमा स्तरोन्नति गर्न लागिएको हो। मध्य भागमा रहेको ४ मिटर चौडाइको ‘मेडियन’ ले सडकलाई दुई–दुई लेनमा छुट्टयाउने उनले जनाए।

सडकलाई ४ लेनमा स्तरोन्नति गर्ने भनिए पनि बजार तथा व्यापारिक क्षेत्रमा सडकको दुवैतिर साढे ६ र साढे ६ मिटर सर्भिस लेनसहित ६ लेनको सडक हुने छ। यी स्थानका सडकलाई ३१ मिटर फराकिलो पारिने जनाइएको छ।

यसका साथै धनुषाको वीरेन्द्रबजार, सर्लाहीका लालबन्दी, नवलपुर, हरिवन र नयाँरोडमा फ्लाइओभरसहित अण्डरपास निर्माण गरिने उनले बताए।

पौडेलले भने, ‘अब निर्माणले गति लिनेछ। पूर्वी खण्डमा सन् २०२५ को जनवरी १ तारिखबाट तीनवटै लटको कार्य एकैसाथ प्रारम्भ गरी ३ वर्षभित्र स्तरोन्नति गरिसक्नुपर्नेछ। ठेकेदार कम्पनीहरूले निर्माण सम्पन्नसाथ जिम्मेवारीबाट पन्छिन पाउने छैनन्। पाँच वर्षसम्म मर्मतसम्भार पनि उनीहरूले नै गर्नुपर्ने सम्झौता भएको छ।’

गुनासो व्यवस्थापन संयोजक तथा बर्दिबास नगर प्रमुख प्रह्लाद क्षत्रीले राजमार्गको स्तरोन्नतिले सम्पर्क सञ्जाल विस्तार भई राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापार आवागमन सहज हुने र सर्वसाधारणको जनजीविकामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यो सडक छिटो बनोस् भन्ने सबैको चाहना भएको बताए।

संयोजक क्षत्रीले भने, ‘काम गर्ने क्रममा आउने विरोध, विवाद र आलोचनालाई सबैको सहयोग र सहकार्यमा समाधान गरी काम गर्ने वतावरण तयार गर्नु हामी सबैको दायित्व हो।’

गोरखापत्रबाट

सम्बन्धित समाचार

सबै