वीरगञ्ज : वाइफाइ बन्द गर्न भनेकै निहुँमा नाति-नातिनी मिलेर हजुरबुवाको हत्या गरेको घटना बाहिरिएको छ।
पर्साको पोखरिया नगरपालिका-८ जगतपुरमा स्थानीय ८० वर्षीय वृद्ध रामजान देवानलाई उनकै नाति १८ वर्षीय काबुल र नातिनी २० वर्षीय खुश्बुले मिलेर हत्या गरेका प्रहरीले जनाएको छ।
सोमबार राति नाति नातिनालाई सुत्ने बेलामा हजुरबुवा रामजानले पटक पटक वाइफाइ बन्द गर्न भनेका थिए। तर नातिनातिनाले कुटपिट गरी उनको हत्या गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ।
नातिनातिनीले रामजानलाई बेहोस हुनेगरी कुटपिट गरेका थिए। गम्भीर घाइते भएका रामजानलाई अस्पताल लगिए पनि उनको मृत्यु भएको पर्सा प्रहरीले बताएको छ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले कुटपिटबाट घाइते रामजानको न्यूरो अस्पताल वीरगञ्जमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको जानकारी दिए ।
हत्या गर्ने रामजानका नाति र नातिनीलाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाही बढाएको छ।