सर्लाही : जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीको अध्यक्षमा मन्दिरा आचार्य विजयी भएकी छन्।
सर्लाही सदरमुकाम मलंगवामा शनिबार भएको मतदानमा ३७ मत प्राप्त गर्दै आचार्य जिल्ला बचत संघको अध्यक्षमा चयन भएकी हुन्। आचार्य नेत्रगन्ज बचत तथा ऋण सहकारी संस्था नवलपुरको अध्यक्षसमेत हुन्।
आचार्यका प्रतिस्पर्धी हरेन्द्र राउतले ३० मत मात्रै प्राप्त गरे। खसेकोमध्ये १ मत भने बदर भएको छ।
यस्तै, सचिवमा सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनका अध्यक्ष केशव ढकाल निर्वाचित भएका छन्। ढकाल ३९ मत ल्याइ विजयी हुँदा प्रतिस्पर्धी तपेश्वर चौधरीले २४ मत मात्रै ल्याए।
सदस्यहरुमा बेचुप्रसाद तिमल्सिना, चेतप्रसाद तिमल्सिना, भवानी घिमिरे, दिनेश्वर राय र पाचु महतो चयन भएका छन्। उपाध्यक्ष, कोषाध्यक्ष र लेखा समितिका दुई जना सदस्य भने यसअघि नै सर्वसम्मत चयन भइसकेका छन्।
उपाध्यक्षमा धनेश्वर महतो, कोषाध्यक्षमा लालबाबु महतो र लेखा समितिको सदस्यमा महादेव साह र ललितादेवी महतो सर्वसम्मत रुपमा चयन भएका हुन। लेखा समितिको संयोजकमा भने मतदानबाट भरत साह चयन भएका छन्।
जिल्ला बचत तथा ऋण सहकारी संघमा यहाँका ७० वटा सहकारी संस्था नवीकरण छन्। १२० वटा सहकारी दर्ता भएपनि ७० वटा मात्रै नवीकरण भएका र बाँकी धेरै संस्था बन्द भइसकेका संघले जनाएको छ।
संघमा नवीकरण भएकामध्ये आज ६८ वटाले मात्रै मतदानमा भाग लिएका छन्। संघको १३ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन गएको पुस २१ गते नै ईश्वरपुरस्थित श्रीनगरमा उद्घाटन भएको थियो।
बन्दसत्रमा नेतृत्वका लागि सहमती हुन सकेको थिएन्। शनिबार सदरमुकाम मलंगवामा भेला गरी मतदानबाट टुंग्याइएको हो।