लालबन्दी : शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५६९ औँ जन्म जयन्ती आज नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदैछ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो। बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा पूजा आराधना गर्ने गरिन्छ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्छन्। बुद्ध जन्मजयन्तीका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। बुद्ध जयन्तीमा बुद्धको पूजा, आराधना एवं प्रवचन गर्ने गरिन्छ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्ध हुन्।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ।
आज लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम हुँदैछन्।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।
राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने। उनी २९ वर्षको उमेरमा दरबार छोडी ज्ञान प्राप्तीका लागि निस्किएका थिए।