सर्लाही जिल्लाका स्थानीय तहलाई २३ अर्बभन्दा बढी अनुदान, कुन स्थानीय तहलाई कति ?

लालबन्दी : चालु आर्थिक वर्ष २०८२/८३ का लागि सर्लाही जिल्लाभित्रका २० वटा स्थानीय तहलाई केन्द्र सरकारबाट झण्डै २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको अनुदान प्राप्त भएको छ।

संघीय सरकारको समानीकरण, सशर्त, विशेष र सम्पूरक अनुदान शीर्षकमा यो रकम छुट्याइएको हो।

सर्लाही जिल्लाका ११ नगरपालिका र ९ गाउँपालिकामध्ये सबैभन्दा बढी अनुदान ईश्वरपुर नगरपालिकाले प्राप्त गरेको छ। सो नगरपालिकाले कुल ७२.२३ करोड रुपैयाँ बराबरको अनुदान पाएको छ। यसमा समानीकरण अनुदान अन्तर्गत २९.५४ करोड, सशर्त अनुदानमा ४२.८२ करोड, विशेष अनुदानमा २.७५ करोड र सम्पूरक अनुदानमा २२.९० लाख रुपैयाँ रहेको छ।

त्यसपछि सबैभन्दा बढी अनुदान पाउनेमा गोडैता नगरपालिका (५८.५० करोड), मलंगवा नगरपालिका (५०.६६ करोड) र हरिपुर नगरपालिका (४८.८० करोड) रहेका छन्।

गाउँपालिका तर्फ हेर्दा चकघट्टा गाउँपालिकाले सबैभन्दा बढी ३५.६२ करोड रुपैयाँ प्राप्त गरेको छ। रामनगर, पर्सा, विष्णु र चन्द्रनगर गाउँपालिकाले पनि करिब ३० करोडभन्दा बढी रकम प्राप्त गरेका छन्।

अनुदानका विभिन्न शीर्षकअनुसार सर्लाही जिल्लाका स्थानीय तहले 

समानीकरण अनुदान अन्तर्गत : ५८.८९ करोड रुपैयाँ   

सशर्त अनुदान अन्तर्गत : १३८.५२ करोड  रुपैयाँ 

विशेष अनुदान अन्तर्गत : १२.०३ करोड रुपैयाँ 

सम्पूरक अनुदान अन्तर्गत : ९.३८ करोड रुपैयाँ  पाएका छन् । 

अर्थात् जम्मागरी जिल्लाका स्थानीय तहहरूले चालु आर्थिक वर्षमा केन्द्र सरकारबाट २३ अर्ब ४३ करोड ८५ लाख रुपैयाँ बराबरको अनुदान पाएका हुन् ।

स्थानीय तहमा विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न उक्त अनुदान सहयोगी हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै