त्रिभुवननगरबाट १,२०० निट्राजेपाम ट्याब्लेटसहित दुई युवा पक्राउ

मलंगवा : सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ स्थित त्रिभुवननगरमा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। असार १० गते आइतबार दिउँसो करिब १ बजेतिर त्रिभुवननगर बजारबाट भेल्हीतर्फ जाने बाटोमा चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरी चौकी त्रिभुवननगरको मुख्य गेट अगाडिको सडकमा सवारीसाधन चेकजाँच गर्ने क्रममा मधेश प्रदेश ०३–००१ ह। २२२१ नम्बरको यात्रुबाहक टेम्पोलाई रोकी प्रहरीले सवार यात्रुहरूको चेकजाँच गर्दा चितवनको भरतपुर महानगरपालिका–२४ निवासी १९ वर्षीय अनिस बिक र ऐरावती गाउँपालिका निवासी १९ वर्षीय सन्देश परियार लागूऔषधसहित फेला परेका हुन्।

प्रहरीका अनुसार अनिस बिकको साथबाट “निट्राजेपाम–१०” लेखिएको ५ पत्ता अर्थात ५० वटा ट्याब्लेट र सन्देश परियारको साथबाट सोही लागूऔषधको ५ पत्ता अर्थात ५० ट्याब्लेट फेला परेको थियो। साथै, उनीहरूले बोकेको रातो रंगको कपडाको झोलाभित्र लुकाएर राखिएको ११० पत्ता (१,१०० ट्याब्लेट) समेत फेला परेको छ। यसरी दुवै जनाको साथबाट प्रहरीले कुल १,२०० वटा निट्राजेपाम ट्याब्लेट बरामद गरेको हो।

निट्राजेपाम एकप्रकारको मानसिक रोग नियन्त्रणका लागि प्रयोग गरिने औषधि हो, जसको दुरुपयोग नशालु पदार्थको रूपमा हुने गरेको पाइएको छ। यस औषधिलाई औषधि ऐन अन्तर्गत नियन्त्रित लागूऔषधको रूपमा वर्गीकृत गरिएको छ।

पक्राउ परेका दुबै युवालाई लागूऔषधसम्बन्धी कसुरमा प्रहरीले हिरासतमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमतिपछि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

यस सम्बन्धमा प्रहरीले थप विवरण संकलन गर्दै आगामी दिनमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य पनि अघि बढाउने जनाएको छ।

सम्बन्धित समाचार

सबै