नाला र फोहोरमैला व्यवस्थापनमा सेटिङमा टेन्डर, गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा

गोडैता : नाला निर्माण र फोहोरमैला व्यवस्थापनका नाममा एकै निर्माण व्यवसायीको नाममा सेटिङमा तीन कम्पनीबाट टेन्डर भर्न लगाइ कमिसन लिने धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उपाध्यक्ष रामवति देवी मण्डल, प्रमुख प्रशाकीय अधिकृत गौरीशंकर मण्डल र सावनकुमार चौधरीसहित कन्स्ट्रक्सन प्रालिसमेत ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा बजार नाला तथा फोहरमैला व्यवस्थापन शीर्षकबाट बिना कुनै निर्णय बजार सेड निर्माण कार्यमा गोप्य रुपमा एउटै निर्माण व्यवसायीबाट तीन वटा निर्माण व्यवसायीको नामले टेन्डर भर्न लगाइ कमिसन लिई बिना प्रतिस्पर्धा एक रुपैयाँको मात्रै फरक पारी एकता सप्लाईसँग मिलेमतोमा गुणस्तरहीन बजार सेड निर्माण गरिएको आरोप अख्तियारको छ ।

काम भन्दा बढी नापी किताब तयार गरी भुक्तानी दिई बजेट रकम हिनामिना गरेको आरोपपत्रमा दाबी गरिएको छ ।

गाउँपालिकाबाट नाला निर्माणमा ५० लाख र फोहोरमैला व्यवस्थापनमा ४२ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तीन वटा कम्पनीले पेश गरेको दररेटमा सिमेन्ट स्यान्ड आइटमबाहेक सबै आईटमको दररेट एउटै पेस भएको थियो ।

सेटिङमा टेन्डर दिलाइ ३१ लाख ३४ हजार रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना तथा हानीनोक्सानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ ।

अख्तियारले गाउँपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित सब इन्जिनियर छोटे मण्डल, नासु नरेशकुमार मण्डल, लेखापाल राधेश्याम राय, सहलेखापाल विनोदकुमार मण्डल, एकता कन्स्ट्रक्सन र उक्त कम्पनीका इन्द्रेशकुमार सिहंलाई प्रतिवादी बनाएको छ ।

सम्बन्धित समाचार

सबै