स्थानीय निर्वाचन : लालबन्दी नगरपालिकाका अबका उम्मेदवार

711

स्थानीय निर्वाचन २०७९ नजिकिदै गर्दा नेपालका प्रत्येक स्थानीय तहमा यससँग सम्बन्धित क्रियाकलाप र गतिविधीहरू बढिरहेका छन्।

यहि सेरोफेरोमा सर्लाही जिल्ला कै बहुप्रतिक्षित लालबन्दी नगरपालिका र यसका वडाहरूमा कस्ता खालका जनप्रतिनिधिहरूको आवश्यकता आगामी ५ वर्ष लाई छ भन्ने बिषयमा यहाँ छलफल गर्ने प्रयत्न गरिएको छ।

लालबन्दी नगरपालिका बजेट, पुर्वाधार र भौगोलिक हिसाबले सर्लाही जिल्लाको एउटा सम्पन्न , विकसित र सुगम नगरपालिका भन्दा अतिशयोक्ति नहोला।
हरेक हिसाबमा अघि रहेको यो नगरपालिकाका समग्र पक्षको विश्लेषण र त्यसमा आकांक्षी व्यक्तिहरूको क्षमताको सहज मुल्यांकन पनि आवश्यक छ।

स्थानीय सरकार (लालबन्दी नगरपालिका) को विगत ५ वर्षलाई फर्केर विश्लेषण र मूल्यांकन गर्दा केहि प्रशंसनीय काम भएको पक्का हो। तर पनि पार्टीगत आन्तरिक विवाद र अन्य वडाहरूप्रति नगरपालिकाको हेय दृष्टिको बारेमा नबोली पनि बस्न सकिन्न। लालबन्दी नगर भित्रका सम्पुर्ण मुख्य र सहायक बाटामा ग्राभेल, कालोपत्रे को कार्य हुनु साँच्चिकै सिंहदरबार गाँउ-गाँउमापुगेको महसुस त हुन्छ।

राम्रा कामका सूचिहरू र गर्न नसकिएका कामहरूको बारेमासूचिहरू बनाउँदा अझै गर्न बाँकी र गर्न नसकेका थुप्रै कामहरूको तालिका लामो बन्ने त निश्चित नै छ।

लालबन्दी नगरपालिकाको बजेट तर्जुमा र यसको विनियोजन वडाहरूको आवश्यकता र प्राथमिकता केन्द्रित बन्नुपर्नेमा विगतमा यो अभ्यासको रुपमा अगाडि बढेका भएपनि कार्यान्वयन पक्ष फितलो भएको देखिन्छ। हरेक काम को एउटै साझा सर्त बजेट रहेको अवस्थामा नगरपालिकाले प्राप्त बजेटको उच्चतम सदुपयोग गर्नको लागि कम विकसित र अति कम विकसित वडाहरूमा आवश्यक पूर्वाधार निर्माणमा आफनो ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ। कृषि कर्ममा रमाइरहेका नगर बासीका लागि नगरपालिकाले ठोस कार्यक्रमहरू के-के ल्याउन सक्यो त यो अर्को बहसको बिषय हो।

बहुमत नागरिक कृषिमा आधारीत रहेको नगरपालिकाले कृषिको प्रबद्र्धन र सम्बर्द्धन को लागि कति बजेट छुट्याउँछ र कृषिमा जीवन धानिरहेका आम जनतामा कसरी राहत पुर्यासउन सक्छ त्यसले समग्र जनताको ध्यान आकर्षित गर्न सक्छ। तर गएका वर्षहरूमा नगरपालिकाले कृषिको उत्पादन बढाउने, उन्नत जातका बीउबिजन उपलब्ध गराउने, समयमा मलखाद उपलब्ध गराउने, व्यवसायिक कृषि कर्मको लागि व्यवसायिक तालिम हरूको आयोजना गर्ने, कृषि उपजको बजारीकरण गर्ने र उचित मूल्य कृषकहरू लाई प्रदान गर्ने, त्यसका लागि कृषकलाई सहुलियतपूर्ण ऋण तथा अनुदान उपलब्ध गराउने, कृषि औजारहरूको सहज उपलब्धतामा नगरको नीति तथा कार्यक्रम कति सम्म सफल भयो त। सायद यी कुरामा पनि नगरपालिकाका कार्यक्रमहरू असफल
छन्।

शिक्षा र स्वास्थ्य पनि यस नगरपालिकाको अर्को पेचिलो बिषय हो। जनसंख्या को हिस्सा र जनसंख्या वृद्धिदरको आधारमा यस नगरपालिका भित्रका स्वास्थ्य र शिक्षा क्षेत्रको अवस्थामा आशातीत प्रगती देखिदैन्। जुन रुपमा नगरपालिकाको हैसियतमा यसको शिक्षा र स्वास्थ्यको पाटो सबल, गुणस्तरीय र सुलभ हुनुपर्ने हो। त्यो अनुरुप निर्वाचित जनप्रतिनिधिहरूले काम गर्न सकेको देखिन्न।

गरिब तथा विपन्न परिवारका जनतालाई सहज, सरल र सस्तो स्वास्थ्य र शिक्षा उपलब्ध गराउन अघिल्लो नेतृत्व चुकेकै हो। अहिले पनि जिल्ला बाट राजधानी र अन्य विकसित शहरमा हुने शैक्षिक र स्वास्थ्य पलायन टिठ लाग्दो छ।

आम युवा तथा उद्यमशील जनशक्तिहरूको पुँजी, क्षमता र क्षेत्रलाई यस नगरपालिका भित्र विकास गर्न नगरपालिकाको अठोट र कार्यक्रमहरूले खासै चासो देखाएको देखिएन। ठुलो संख्यामा बैदेशिक र शहर केन्द्रित भइरहेको आम युवावर्ग र उद्यमशील उमेर क्षमतालाई नगरपालिका भित्रै संरक्षण र प्रबद्र्धन आजको आवश्यकता बनिरहँदा वर्तमान नेतृत्व त्यसतर्फ अग्रसर भएर खासै रुचि देखाएको पाइएन।

त्यति मात्र होइन बैज्ञानिक भुमि व्यवस्थापन, महिला सशक्तीकरणका कार्यक्रमहरू, प्राकृतिक वनजंगल खोलानालाहरूको उचित प्रयोग, संरक्षण र प्रबद्र्धन, जनसहभागिता मुलक विकास निर्माण कार्यहरू, दिगो विकास सम्बन्धित कार्यहरू, युवा लक्षित कार्यक्रमहरू, खेलकुद सम्बन्धित गतिविधीहरूको बढोत्तरी, बैङ्क तथा वित्तिय संस्थाहरूको क्षमता बृद्धि तथा विस्तारित कार्यक्रमहरूमा पनि वर्तमान नेतृत्व चुकेको छ। सेवा क्षेत्रको कुरा गर्दा मात्र सिमित शहरीकरण भएका क्षेत्रमा मात्र सेवा क्षेत्रहरू केन्द्रित रहनु अर्को बिडम्बना हो।

प्रत्येक नगरका वडा हरेक प्रकारका सेवाहरू बाट बञ्चित रहनु हुदैन। बिजुली, खानेपानी, इन्टरनेट,सूचना र प्रविधि, सिनेमा घरहरू आदिको विस्तारमा र सहज उपयोगमा नगरको नेतृत्वले सहजीकरणको भुमिका खेलेर प्रत्येक दुर्गम क्षेत्रपनि त्यसबाट उपेक्षित रहनुहुदैन। तर यी कुराहरू पनि नगरपालिकाको नेतृत्वले महत्वपुर्ण मानेको देखिएन।

आउँदो निर्वाचन : नयाँ जनप्रतिनिधि युवाको प्रतिनिधित्व

बूढापाका नेतृत्व हरेक वडाहरू र नगरको नेतृत्वबाट हट्नुपर्छ भन्ने मान्यतामा यो लेख होइन। जबकी अब अनुभवी नेतृत्वले नयाँ जोश र विचार बोकेको नेतृत्वलाई नेतृत्व हस्तान्तरण गरेर सहजकर्ता वा सल्लाहकारको भुमिकामा रहनुपर्छ भन्ने मान्यता हो। अबको नेतृत्व शिक्षित, सबल, क्षमतावान र जाँगरिलो हुन आवश्यक छ।

प्रत्येक आकांक्षीहरूका एउटा साझा मान्यता रहनु अबको आवश्यकता हो। जुनसुकै पार्टी वा उम्मेदवार भएपनि उ सँग पाँच बर्षको स्पष्ट योजना, दिशा र प्रतिबद्धता आवश्यक छ। जनताको स-साना दुःख र पीडामा मलहम लगाउन सक्ने मात्र भएपनि अबको नेतृत्व भनेको सुन्ने, आवश्यकता बमोजिमको काम गर्ने, आम जनताको पहुँचमा रहने र समग्र वडाहरूलाई समान रुपमा विकासको यात्रामा सँगसँगै हिँडाउन सक्ने चाहिन्छ।

अनि मात्र लालबन्दी नगरपालिकाले आफुलाई नेपालभरिका स्थानीय तहहरू भन्दा पृथक र अलग देखाउन सक्छ।

Shares17