मधेशलाई ‘सुक्खा क्षेत्र’ घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई जनमत पार्टीको ज्ञापनपत्र

13

काठमाडौं‌ : जनमत पार्टीले तराई मधेसलाई सुक्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउनुपर्ने मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ।

शनिबार बिहान जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खानको नेतृत्वमा प्रधानमन्त्री निवासमा सो ज्ञापन बुझाइएको हो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेसमा खानेपानीमा देखिएको समस्याको बारेमा आफू जानकार रहेको र खानेपानी तथा सिँचाइको विकल्पको बारेमा सरकारले गृहकार्य गरिरहेको धारणा राखेका थिए।

प्रधानमन्त्री प्रचण्डले खानेपानी तथा सिँचाइको समस्यामा सरकार गम्भीर रहेको ट्याङ्करबाटै भए पनि जनतालाई दीर्घकालीन रूपमा खानेपानीको व्यवस्था गर्ने र खानेपानीको अभावले भएको बिरामीको उपचारको व्यवस्था गरिने आश्वासन दिएको उपाध्यक्ष खानले बताए।

मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत प्रदान गर्नुपर्ने, विरगञ्जसहितका सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था अविलम्ब गर्नुपर्ने, सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्नु पर्न, सिँचाइको लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्नुपर्ने, पानीको अभावले बिरामी परेकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, खडेरी सहितका प्राकृतिक प्रकोपहरूको दिगो नियन्त्रणको योजना बनाएर सार्वजनिक गर्नुपर्ने माग सहितको ज्ञापनपत्र जनमत पार्टीले बुझाएको हो।

तराई मधेसलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गर्दै जनमतले हिजो काठमाडौंमा प्रदर्शन गरेको थियो।