भ्रष्टचारमा दोषी ठहर भएका सर्लाही कांग्रेसका नेतालाई देउवाको सम्मान

लालबन्दी : भ्रष्टाचारमा दोषी ठहर भइसकेका नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीले केन्द्रीयस्तरमै सम्मान गरेको छ ।

पार्टीको विधि र नैतिकता दुवैलाई तिलाञ्जली दिँदै पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई सानेपास्थित पार्टी कार्यालयमा सम्मान गरेका हुन् ।

सम्मान पत्रमा लेखिएको छ ‘नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा आधुनिक पुस्तकालय तथा स्रोत केन्द्र संचालनार्थ पुस्तक प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ।’

सिंहलाई सर्लाहीको तत्कालीन मनुस्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा आर्थिक अनियमितता गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको थियो । सर्वोच्च अदालतले गत फागुन १५ गते विशेषको फैसला सदर गर्दै चार महिना १५ दिन कैद र १ करोड २३ लाख रुपैयाँ बिगो तिराउने निर्णय गरेको हो ।

तर न्यायालयबाट दोषी ठहरिए पनि सिंह अहिलेसम्म पनि जिल्ला सभापतिकै हैसियतमा सक्रिय छन्। सर्वोच्चको फैसलापछि सर्लाहीका कांग्रेस कार्यकर्ताहरूले पार्टीको केन्द्रीय नेतृत्वलाई नयाँ जिल्ला सभापति चयनको माग गर्दै बारम्बार ध्यानाकर्षण गराए, यहाँसम्म कि सानेपामा धर्नासमेत दिएका थिए ।
तर पार्टी नेतृत्वले ती आवाज बेवास्ता गर्दै सिंहलाई नेतृत्वले नै संरक्षण गर्ने र सम्मान कार्यक्रमको आयोजना गर्नुले कांग्रेसभित्र गम्भीर नैतिक संकट देखिएको छ। झन् रोचक त के छ भने सिंहका दाजु तथा मधेश प्रदेशका प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले सामाजिक सञ्जालमा ‘मेरो आदरणीय दाजु’ भन्दै शुभकामना सन्देश पोस्ट गरेका छन्।

न्यायालयबाट प्रमाणित भ्रष्टाचारको दोषीलाई सार्वजनिक रूपमै सम्मान गर्नुको राजनीतिक र नैतिक सन्देशबारे प्रश्न उठिरहेका बेला देउवा नेतृत्वको मौनता र सम्मान कार्यक्रमले कांग्रेसको अनुशासन र आन्तरिक पारदर्शितामा गम्भीर प्रश्न उठाएको छ। सिंह स्वयंले पनि सम्मानपछि सार्वजनिक रूपमा जय नेपाल भन्दै कांग्रेस सभापति देउवालाई धन्यवाद दिएका छन्।

सम्बन्धित समाचार

सबै