ईश्वरपुर : सर्लाहीको उत्तरवर्ती क्षेत्रमा अवस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा सर्पले डसेर एक महिलाको ज्यान गएको छ । घारिबथानकी ५० वर्षीया सीता परियारको गोमन सर्पको डसाइबाट मृत्यु भएको हो ।
बिहीबार साँझ घरमा पालेको सुँगुरलाई चारो दिन जाने क्रममा परियारलाई गोमन सर्पले खुट्टामा दुई पटक डसेको थियो । सर्पले डसेपछि उनलाई तत्कालै नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।
नवलपुर सर्पदंश उपचार केन्द्रमा परियारको उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि भेन्टिलेटरको सुविधा भएको जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईश्वरपुर नगरपालिका–१२ का वडा सदस्य खेमबहादुर बुढाथोकी (दिनेश) ले जानकारी दिए ।
नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवका अनुसार परियारलाई केन्द्रमा ल्याउँदा उनको अवस्था चिन्ताजनक थियो । उनलाई १० भाइल एन्टिस्नेक भेनम दिएर जनकपुर रेफर गरिएको थियो । यादवले भने, “महिलाको बोली लटपटिएको थियो र उनले थुक्न समेत नसक्ने अवस्थामा थिइन्, त्यसैले यहाँ उपचार सम्भव भएन ।”
नवलपुर सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर र आईसीयु सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको बताइएको छ । यस कारण सर्पले डसेर सामान्य अवस्थामा ल्याइएका बिरामीको मात्रै उपचार सम्भव हुने गरेको छ ।